सरकारले चिया मजदुरलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै चिया मजदुर ०८२ साउन १८ देखि आन्दोलित भएका छन् । मजदुर आन्दोलित भएपछि झापाका चार ओटा चिया बगानको काम प्रभावित भएको छ ।
भद्रपुर नगरपालिका–२ को गौरीशङ्कर, सूर्य र ऋषिगणेश तथा मेचीनगर नगरपालिका–३ को नाज स्टेटका २ सय भन्दा बढी मजदुर काम छाडेर आन्दोलनमा छन् । उनीहरूले स्टेटपरिसरमा दिनहुँ नाराजुलुस गरिरहेका छन् ।
भद्रपुरमा साउन १८ गतेदेखि र मेचीनगरमा साउन २० देखि काम ठप्प पारेर मजदुर आन्दोलनमा रहेको नेपाल चिया–कफी मजदुर युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताउनु भयो ।
युनियनसहित नेपाल चिया बगान मजदुर सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् ।
मजदुरले भर्खरै सरकारले अन्य क्षेत्रका मजदुरका लागि ज्याला बढाएको तर चिया क्षेत्रका मजदुरका लागि उपेक्षा गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरूले मजदुरलाई सम्झौताबिनै काम लगाएको, सम्झौताबिना काम लगाउँदा आफूहरू सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित भएको आरोप लगाएका छन ।
मजदुरले श्रम ऐन अनुसार ०८२ वैशाख ३१ गते नै गौरीशङ्कर टी स्टेट प्रालि, ऋषिगणेश, सूर्य र नाज चिया बगान तथा चिया प्रशोधन उद्योगमा ३० दिनको अल्टिमेटम पनि दिएका थिए । तर, रोजगारदाताले २१ दिनसम्म वार्तामा नबोलाएकाले श्रम कार्यालयमा उजुरी गरेपछि श्रमले दुई पटक वार्तामा बोलाए पनि रोजगारदाता पक्षबाट सबैका आधिकारिक प्रतिनिधि नआएको अध्यक्ष राईले बताउनु भयो । गौरीशङ्करमा ७० जना, ऋषिगणेशमा २५ जना, सूर्यमा ७० जना र नाज टी स्टेटमा ६५ जना मजदुर कार्यरत छन् ।
आन्दोलनरत मजदुर र रोजगारदाता (नेपाल चिया उत्पादक सङ्घ) भद्रपुरमा वार्ता भए पनि बिनानिष्कर्ष टुङ्गिएको छ ।
भद्रपुर उद्योग सङ्घमा भएको वार्तामा सङ्घका प्रतिनिधिले आफूहरूका माग पूरा गर्न नसक्ने बताएपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको मजदुर नेता सन्तकुमार राईले बताउनु भयो ।
“भर्खरै सरकारले चिया मजदुरबाहेकका मजदुरको ज्याला १३ प्रतिशतले बढाएको छ । हामीले त्यही दरमा हाम्रो ज्याला बढाउन माग गर्दा उद्योगी सहमत भएनन्,” उहाँले भन्नुभयो, “सङ्घका प्रतिनिधिले दुई वर्षसम्ममा प्रतिदिन ५० रुपियाँ बढाउने तर यो वर्ष २५ र अर्को वर्ष थप २५ रुपियाँ बढाउने प्रस्ताव राखे ।”
सरकारले प्रत्येक दुई वर्षमा चिया मजदुरको ज्याला हेरफेर गर्ने गरेको छ । मजदुरले पाइरहेको प्रतिदिन ५ सय रुपियाँ ज्यालामा १३ प्रतिशतले हुने ६५ रुपियाँ बढाउन माग गरेका हुन् ।
वार्तामा अध्यक्ष राईसहित तीन वटै मजदुर सङ्घका प्रतिनिधि, रोजगारदाताका तर्फबाट नेपाल चिया उत्पादक सङ्घका चण्डी पराजुली, जेपी शर्मा, छत्र गिरी र भक्ति अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।