INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दीबिच पुनः झडप हुँदा एक जनाको मृत्यु, ४७ जना घाइते

जिल्ला कारागार, कैलालीमा ०८२ साउन २३ गते राति ११ बजे पुनः झडप भएपछि एक जना कैदीको मत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

झडपमा परी धनगढी उपमहानगरपालिका—४ घर भई लागुऔषध मुद्दामा जिल्ला कारागार कैलालीमा थुनामा रहेका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ ।

झडपमा परी गम्भीर घाइते भएका भरत चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा लगिएको अवस्थामा मृत्यु भएको र कुटपिटबाट गम्भीर घाइतेभएका रवी चौधरी र जगदिश रानाको सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र ठुुलो संख्यामा प्रहरी परिचालन गरी सेती प्रादेशिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।

यसअधि पनि जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला कारागार, कैलालीमा पछिल्लो  समय कुटपिट, झडप र मृत्युसम्मका घटनाहरु निरन्तर रुपमा भइरहेका भए पनि कारागार सुरक्षा र व्यवस्थापन कार्यमा सम्बन्धित निकायहरुको ध्यान जान नसक्दा घटनाहरु बारम्बार भइरहेको कैदीबन्दीहरुका परिवारको गुनासो छ  ।

अन्य

भिडियो