सर्केगाड गाउँपालिका–४ स्थित हिमज्योती माध्यामिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । ०८२ साउन १४ गते यसअघिका प्रधानाध्यापक सुरेश थापालाई सरुवा गराउँदै सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी पत्नी कल्पना बुढा रोकायालाई विद्यालय व्यवस्थापन समितिको बैठकले नियुक्ति गर्ने निर्णय गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । नयाँ प्रधानाध्यापक रोकाया सर्केगाड गाउँपालिका–७ स्थित कोट माध्यामिक विद्यालय रोडिकोटबाट राजनीतिक पहुँचका आधारमा ०८२ जेठ महिनामा हिमज्योति माध्यामिक विद्यालयमा सरुवा गराएर ल्याइएको विद्यार्थीहरुको आरोप छ ।
उक्त विषयलाई लिएर ०८२ साउन १४ गतेदेखि विद्यार्थीहरूले नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका छन् । विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित बनेको छ । व्यवस्थापन समितिको बैठकले यस अघि प्रधानाध्यपक रहेका थापालाई हटाइ राजनीतिक पहुँचको आधारमा रोकायालाई नियुक्त गरेपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको सो विद्यालयको कक्षा १० मा अध्यनरत धनबहादुर शाहीले बताउनु भयो । विद्यालयमा विगत १०-११ वर्षदेखि अध्यापन गराउदै आएका थापालाई नै प्रधानाध्यापक बनाउनुपर्ने विद्यार्थीहरुको माग रहेको उहाँले बताउनु भयो ।
‘विगतका वर्षदेखि पढाउँदै आउनुभएका प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिको निर्णयले बिना गल्ती हटायो,’ उहाँले भन्नुभयो, ‘त्यो निर्णय बदर नहुँदासम्म हामी आन्दोलन रोक्ने छैनौं । विद्यालय नै बन्द गछौं बरु ।’