गढवा गाउँपालिका–७ का नौ वर्षीय बालक शरद शर्माको हत्या गरेको कसुरमा जिल्ला अदालतले १० वर्ष कैद फैसला सुनाएपछि फरार रहेकी गढवा गाउँपालिका–७ की ५० वर्षीया वसन्ता शर्मालाई प्रहरीले २३ वर्षपछि गिरफ्तार गरेको छ ।
सौताको छोरालाई लाठी प्रहार गरी ०५९ असार १९ गते हत्या गरेको घटनामा कसुर ठहर गर्दै जिल्ला अदालतले ०६० असोज २६ गते दुई वर्ष कैद सजाय सुनाएको थियो । तर पीडित पक्षले फैसला चित्त नबुझेको भन्दै ०६० कात्तिक २५ गते तत्कालिन पुनरावेदन अदालत तुलसीपुरमा पुनरावेदन गरेपछि अदालतले जिल्ला अदालतको फैसला बदर गर्दै ०६० माघ ३ गते वसन्ता शर्मालाई १० वर्ष कैद गर्ने फैसला सुनाएको थियो ।
घटनालगत्तै फरार रहेकी शर्मालाई इलाका प्रहरी कार्यालय गढवाले ०८२ साउन १८ गते काठमाडौं महानगरपालिका–९ गोंगगबुबाट गिरफ्तार गरी साउन २१ गते जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।