INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सजाय तोकिएका बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले ०८२ साउन २० गते गिरफ्तार गरेको छ ।

बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायको असार ३२ गते इजलासले कसुर गरेको ठहर गर्दै दुई वर्ष कैद, २५ हजार रूपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट २ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलाले कोइरालालाई आफूविरुद्धको फैसलामा पुनरावेदन गर्ने बाटो भने खुला राखेका कारण कोइराला कैद भुक्तान नगरी मुद्दा लड्दै आएका थिए ।

कोइराला विरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८२ वैशाख २४ गते बालबालिकासम्बन्धी ऐन, २०७५ दफा ६ बमोजिम बाल यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको ०८२ वैशाख २५ गतेको आदेशले १ लाख रुपियाँ धरौटी माग गरेको थियो । आरोपित सोही दिन धरौटी बुझाएर रिहा भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न साउन २० गते महेन्द्र चोक, विराटनगर पुगेका बेला कसुरदार कोइरालालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङकी डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।

गिरफ्तारीमा परेका कोइरालालाई साउन २० गते इलाका प्रहरी कार्यालय, महेन्द्रनगर सुनसरीमा राखिएको छ । साउन २१ गते कोइरालालाई जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।

बालिकालाई ०८२ वैशाख ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, महेन्द्रनगरमा वैशाख ८ गते उजुरी दिएका थिए।

पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितलाई प्रहरीले ०८२ वैशाख २४ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ८ गते जिल्ला अस्पतलामा गरिएको थियो ।

अन्य

भिडियो