‘बहुविवाह मान्दैनौं’ भन्ने नारासहित पोखरामा विरोध प्रदर्शन गरिएको छ । बहुविवाहलाई कानुनी मान्यता दिनेगरी तयार गरिएको मस्यौदाविरुद्ध कास्कीका मानव अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि रहेको सहिद पार्कमा विरोध प्रदर्शन गरेका छन्।
शान्तिका लागि नागरिक समाज कास्की र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको आह्वानमा विरोध प्रदर्शन गरिएको थियो ।
अधिकारकर्मीहरूले संघ सरकारको कानुन मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउनुका साथै गण्डकी प्रदेश सरकारका कानुन मन्त्रीलाई पनि मस्यौदाविरुद्ध आवाज उठाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको थियो । उक्त ज्ञापन पत्रमा करिब दुई दर्जन संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
शान्तिका लागि नागरिक समाज कास्कीकी अध्यक्ष बिना सिलवालले लैंगिक विभेदलाई संस्थागत गर्ने उद्देश्यले कानुनी मस्यौदा ल्याइएको भन्दै विरोध गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालबालिकाको हक हितको नाममा बहुविवाहलाई मान्यता दिन खोज्नु निन्दनीय छ । यसले नेपालको संविधान २०७२ मात्र होइन, मानव अधिकारसमेत उल्लंघन गर्छ । यो कुनै हालतमा स्वीकार्य छैन ।’
उहाँले यो मस्यौदाले कानुनी रूप लिए महिलामाथिको हिंसा थप बढ्ने र सामाजिक संस्कृति नै खल्बलिने चेतावनी दिनुभयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुजेलले कुनै पनि बहानामा बहुविवाहलाई कानुनी मान्यता दिनु आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । ‘अनैतिक सम्बन्धलाई कानुनी ढोका खोल्नु भनेको समाजलाई बेथितितर्फ धकेल्नु र महिलामाथि अन्याय गर्नु हो,’ उहाँले भन्नुभयो ।
गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासलाई २१ औं शताब्दीमा देशलाई ३० वर्ष पछाडि फर्काउने कदमको संज्ञा दिनुभयो । ‘यो छलकपटपूर्ण तरिकाले ल्याइएको मस्यौदा हो, जसलाई तत्काल खारेज गर्नुपर्छ’, उहाँले भन्नुभयो ।