कोशी प्रदेशका ४९ लाख ६१ हजार ४ सय १२ जना नागरिकमध्ये ३४ प्रतिशतलाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको कोशी प्रदेश सरकारले जनाएको छ ।
कोशी प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ०८२ साउन १८ गते विराटनगरमा पत्रकार सम्मेलन गरी १ हजार ५ सय ९१ ओटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार ०७५ सालअघि आधारभूत खानेपानीतर्फ ९० प्रतिशत, सुरक्षित खानेपानीतर्फ १५ प्रतिशत र आधारभूत सरसफाइतर्फ ६२ प्रतिशत नागरिको पहुँच थियो ।
प्रदेशअन्तर्गतका सात ओटा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, १३ ओटा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, एउटा जलस्रोत तथा सिँचाइ विकास सब डिभिजन कार्यालय, दुई वटा सिँचाइ व्यवस्थापन कार्यालय र एउटा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन गरी २४ ओटा कार्यालयबाट खानेपानी, सिँचाइलगायत सेवासुविधा उपलब्ध गराउँदै आएको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
यसअघि सङ्घीय सरकारबाट खानेपानी व्यवस्थापनसम्बन्धी कामकाज हुँदै आएकामा प्रदेश सरकारले ल्याएको ऐन कार्यान्वयन भएसँगै रूग्ण खोनेपानी, आयोजना सञ्चालनसहित व्यवस्थापन, सिँचाइ, नदी नियन्त्रण, ऊर्जा तथा विद्युतजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा प्रदेश सरकारले काम गर्दै आएको मन्त्री कार्कीले बताउनु भएको छ ।
नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हक भनेर व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ ।