बलात्कार घटनामा अदालतले कैद सजायको फैसला सुनाएका फरार अभियुक्त लेकवेशी नपा-३ का ३५ वर्षीय दिलबहादुर रोकायलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालत सुर्खेतले ०६६ माघ १३ गते गरेको फैसलामा दिलबहादुरलाई ४ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । फरार अभियुक्त रोकायलाई प्रहरीले नौ वर्षपछि घरबाटै गिरफ्तार गरेको हो ।
भारतमा गई लुकीछिपी बसेका रोकाय चार्डपर्व मान्न घरमा आइबसेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिञ्चुबाट खटिएका प्रहरीले घरबाटै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका इन्स्पेक्टर मधुसुदन न्यौपानेले बताए ।
रोकायलाई गिरफ्तार गरी कात्तिक २६ गते नै जिल्ला अदालत सुर्खेतमा बुझाएकोमा सो अदालतको आदेशले उनलाई सोही दिन कारागार चलान गरिएको इन्स्पेक्टर न्यौपानेले जानकारी दिए ।
२५ वर्षीया महिलालाई ०६५ जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय छिञ्चुमा ०६५ जेठ २९ गते उजुरी दिएको थियो ।