गोदावरी नपा-१ बाँसघरी की १७ वर्षीया ईश्वरी चौधरीलाई सात जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेका कारण घाइते भएकी छन् ।
कात्तिक २६ गते बिहान १० बजे आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएपछि विद्यालयबाट विदा मागेर घर जाने क्रममा अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरी सडकको नालीमा फालेको पीडित चौधरीले बताइन् ।
अपरिचित व्यक्तिहरूको समूहले धम्की दिँदै टाउको, पेट र छातिमा प्रहार गरेपछि बेहोस हुन गएकी र साँझ ४ बजेतिर होस् आएपछि आफूलाई सडकको नालीमा प्लाष्टिकले ढाकेको अवस्थामा आफूलाई पाएको बताइन् ।
पीडितको स्वास्थ्य उपचार पदमा अस्पताल, अत्तरियामा भइरहेको छ । डा. नरबहादुर मौनीले पीडित किशोरीको पेट, छाति र टाउकोमा चोट लागेकाले स्वास्थ्य अवस्था गम्भीर रहेको बताए ।
पीडितका बुवा जितराम चौधरीले छोरीलाई आक्रमण गर्ने व्यक्तिहरूको तत्काल खोजी गर्न माग गर्दै कात्तिक २६ गते इलाका प्रहरी कार्यालय, अत्तरियामा उजुरी दिएपछि घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय अत्तरियाका इन्स्पेक्टर किसन चन्दले बताए ।