INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा यातना दिएर हत्या गरेको पीडित पक्षको आरोप, निश्पक्ष छानबिनको माग

लागू औषध मुद्दामा जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ का २६ वर्षीय निराजन यादवको भदौ १० गते मृत्यु  भएको छ ।

त्यसलगत्तै पीडित पक्षले यातना दिएका कारण यादवको मृत्यु भएको भन्दै निश्पक्ष छानबिनको माग गरेको छ ।

लागू औषध मुद्दामा जिल्ला अदालतले ०७६ फागुन ११ गते ९ महिना १९ दिन कैद र ७८ हजार रुपियाँ जरिबानाको फैसला गरेपछि कैद भुक्तान गरिरहेका यादवको भदौ १० गते मृत्यु भएको थियो ।

जेलर सुवासकुमार लामिछानेले छारे रोगबाट पीडित यादवको उपचारका लागि कोशी अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो ।

कारागारभित्र यातना दिएका कारण मृत्यु भएको पीडित पक्षले आरोप लगाएपनि यादव लागू औषध प्रयोगकर्ता भएको र छारे रोगबाट पीडित भएको उहाँको भनाइ छ ।

उपचारका लागि अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेकाले मृत्यु शङ्कास्पद भएको निराजनका आफन्त देबेन्द्रकुमार यादवले इन्सेकको अनुगमन टोली समक्ष बताउनु भयो ।

भदौ ६ गते निराजनलाई भेट्दा अवस्था सामान्य रहेको र भदौ १० गते अचानक मृत्यु भएको सूचना कारागारले दिएपछि मृत्यु शङ्कास्पद भएको यादवले बताउनु भयो ।

घटनाका विषयमा निश्पक्ष छानबिन गर्न माग गर्दै देबेन्द्रकुमार यादवले भदौ ११ गते राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालयमा उजुरी दिनु भएको छ ।

यसैबिच इन्सेक प्रदेश १ कार्यालयले भदौ ११ गते पीडित पक्ष र मोरङ कारागारका जेलर सुवासकुमार लामिछानेलाई भेटी घटनाका विषयमा जानकारी लिएको छ ।

इन्सेक प्रदेश १ संयोजक सोमराज थापासहितको टोलीले कोशी अस्पतालमा पीडित पक्षलाई भेटी घटनाका विषयमा जानकारी लिएको छ ।

कारागारभित्र नाइके र भाइ नाइकेका कारण कतिपय अवस्थामा दुर्घटना हुने भएकाले त्यसतर्फ सचेत रहन मानव अधिकार अनुगमन टोलीले कारागार व्यवस्थापन गम्भीर हुन सुझाव दिएको छ ।

Photo 20200827 Morang (1)

Photo 20200827 Morang (2)

Photo 20200827 Morang (3)

Photo 20200827 Mornag4

अन्य

भिडियो