राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले सहकार्यमा मानव अधिकार सहायता कक्षको स्थापना गर्ने भएका छन् । इन्सेकले आयोग समक्ष राखेको प्रस्तावलाई आयोगले भदौ ८ गतेको बैठकबाट सहायता कक्षका साथै मानव अधिकारका अन्य सवालमा सहकार्य गर्न निर्णय गरेको भन्दै आयोगको केन्द्रीय कार्यालयले प्रदेश कार्यालयहरूलाई परिपत्रसमेत गरेको छ ।
परिपत्रमा–‘अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयबाट सहकार्यका लागि आएको प्रस्ताव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ र आयोगका नीति निर्देशनको अधिनमा रही मानव अधिकार सहायता कक्ष इन्सेकका प्रदेशस्तरीय कार्यालयमा स्थापना गर्ने र आयोगका प्रदेशस्तरीय कार्यालयबाट पर्यवेक्षकका रूपमा प्रतिनिधि पठाउने’ भनिएको छ ।
सबै प्रदेशमा आयोग र इन्सेकको समन्वय बैठक, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मानव अधिकार सहायता कक्षको स्थापाना, मानव अधिकार रक्षक सञ्जाल गठन र परिचालन तथा सो सञ्जालका प्रतिनिधि र प्रदेश सभा सदस्यहरूसँग कार्यशालाको आयोजना गर्ने भनिएको छ ।