INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदी–बन्दीहरूको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार सुनिश्चित गरः आयोग

कारागारहरूमा रहेका कैदी÷बन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरूमा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौँको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारहरूमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सम्बन्धमा कारागार व्यवस्थापन विभागसँग जानकारी लिएको आयोगद्वार भदौ १० गते जारी विज्ञप्तिमा उल्लेख छ । देशका ७१ ओटा कारागारहरूमा हाल २१ हजारभन्दा बढी कैदी–बन्दी रहेको आयोगले जनाएको छ ।

देशका अधिकाँश कारागारहरूमा क्षमताभन्दा अधिक सङ्ख्यामा विगत लामो समयदेखि कैदी–बन्दीहरू रहेको अनुगमनहरूबाट पाइएको आयोगले उल्लेख गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढेसँगै कारागारहरूमा अत्यधिक सङ्ख्यामा रहेका कैदी–बन्दीहरूले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि आयोग समक्ष अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूमा समेत त्रास सिर्जना भएको पाइएको छ । बिरामी भएका कैदी–बन्दीलाई उपचार गर्न लैजाँदा तथा कारागारभित्र नयाँ कैदी–बन्दी भित्रिँदा समेत कोरोनाको जोखिम उच्च रहने आयोगले औँल्याएको छ ।

क्षमताभन्दा अधिक सङ्ख्यामा कैदी–बन्दी रहेका कारागारहरूमा कोभिड–१९ को सङ्क्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

साथै नयाँ कैदी–बन्दीको पीसीआर परीक्षण गरिए पनि पछि पनि सङ्क्रमण हुन सक्ने सम्भावना रहेको आयोगले जनाएको छ । कारागारमा पठाइने नयाँ कैदी–बन्दीलाई निश्चित अवधिका लागि अन्य कैदी–बन्दीहरूबाट छुट्टै राख्ने व्यवस्था गर्न आयोगले सुझाव दिएको छ ।

कारागारभित्र रहेका कैदी–बन्दीहरूको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न, गराउन पनि नेपाल सरकारलाई आग्रह गरेको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो