जुगल गाउपालिका–२ गोल्चेको लिदीमा गएको पहिरो प्रभावित स्थानीय लिदीवासीलाई स्वच्छ खानेपानीको अभाव भएको लिदीका मिङमार छिरिङ दोङले बताउनु भयो ।
पहिरोपछि हाल त्यस गाउँका ६ सय १५ जना स्थानीय नागरिकहरूलाई सुरक्षित ठाउँमा त्रिपाल तथा टेन्टको अस्थायी बसोवासको व्यवस्था गरिएको छ भने पहिरोमा परि घाइते भएका पाँच जना उपचारको लागि अस्पताल भर्ना भएका छन् ।
खानेपानीको समस्या समाधान गर्न भनि जिल्ला खानेपानी डिभिजन कार्यालयबाट पाँच सय मिटर पोलिथिनको पाइप पठाए पनि त्यो अपुग भएकोले अहिले पनि पहिरो प्रभावितहरूले खोल्सीमा बगेको खुल्ला पानी खान बाध्य भएको जुगल गाउपालिका वडा नं. २ का वडा अध्यक्ष प्रताप लामाले बताउनु भयो । स्वच्छ खानेपानीको अभाव तथा शौचालयको उचित व्यवस्था नहुँदा यो वर्पादको मौसममा झाडापखला लगायतको महामारी फैलनसक्ने जिल्ला जनस्वास्थय कार्यलयले जनाएको छ ।
साउन ३० गते बिहान लिदी गाउँको माथिबाट खसेको पहिरोमा १९ जनाको मृत्यु भएको र २० जना अझै बेपत्ता भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भयो । १ सय ७२ घरधुरी रहेको लिदीमा २९ घर पहिरोले पुरेको थियो ।
प्राकृतिक बिपत्तिको अहिलेको अवस्थाबाट लिदी सामान्य स्थितिमा आउन केही समय लाग्ने जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । ०७२ सालको भूकम्पले चिराचिरा भएर बस्न अयोग्य भएको लिदी गाउँका नागरिकहरू तत्काल ज्यान जोगाउन भागेर जुगल गाउँपालिका–१ सेलाङको जङ्गलमा आएर बसेका थिए । सामुदायिक जङ्गलमा बसोवास गर्न सेलाङको सामुदायिक बन उपभोक्ता समितिले नदिएपछि लिदीवासिहरू पुनः आफ्नै थातथलो रहेको लिदी गाउँमा ०७५ सालमा फर्केका थिए ।
चिराचिरा परेको बस्तीमा यस वर्षको वर्षादले समस्या पारेको, गाउँभन्दा माथिबाट पनि पहिरो बग्न सुरु गरेको र गाउँ मुनिबाट पनि पहिरो जान थालेकोले आफूहरूलाई सुरक्षित ठाउँमा बस्ने ब्यवस्था मिलाइदिन दिनभरीको बाटो हिँडेर ०७७ साउन २६ गते प्रमुख जिल्ला अधिकारीलाई लिखित निवेदन सहित अनुरोध गरेको जुगल गाउपालिका वडा नं. २ का जालबहादुर लामाले बताउनु भयो ।
लिदी गाउँमा बस्न जोखिम भयो हामीलाई सुरक्षित ठाउँमा बस्ने ब्यवस्था गरियोस भनि अनुरोध गर्न जिल्ला प्रशासन कार्यालय पुगेका १७ जना लिदीका नागरिकहरूलाई एक÷एक ओटा त्रिपाल दिएर अबआइन्दा यो समस्या लिएर मेरो कार्यकक्षमा नआउनु भन्दै हप्कीपूर्ण भाषामा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गाउमै गएर बस्नु भनि फर्काएको लिदीका वडा अध्यक्ष प्रताप लामाले बताउनु भयो ।
‘आफुहरूलाई सुरक्षित वासको माग गर्दा सरकारी निकायबाट बेवास्ता गरेको तीन दिनपछि लिदीमा भिषण पहिरो गएर दुखद घटना ब्यहोर्नु प¥र्यो । तर पनि पहिरोबाट बाचेकाहरू स्वच्छ खानेपानी खान पाउँ भनी फेरी सरकारसँगै माग गरिरहेका छन्’ जुगल गाउपालिका वडा नं. २ का जालबहादुर लामाले बताउनु भयो ।