सिरहा जिल्ला औरही गाउँपालिका–५ औरही टोल घरभई हाल जनकपुरधाम उमनपा–१ बस्ने थाहा खबर मिडिया नेटवर्क धनुषा जिल्ला सम्वाद्दाता ३२ वर्षीय पत्रकार सन्तोष यादवलाई साउन ३० गते साँझ प्रहरीले कुटपिट गरेको आरोप छ ।

जनकपुरधाम उमनपा–१ पुलचोक बस्ने ३५ वर्षीया रुक्मणी सदाको नवजीवन अस्पतालका चिकित्सकको लापरवाहीले साउन २९ गते मृत्यु भएको भन्दै पीडित परिवारले आरोप लगाएको घटनाको रिपोर्टिङ्ग गर्न गएका पत्रकार यादवलाई प्रहरीले कुटपिट गरेको घटनाका प्रत्यक्षदर्शी पत्रकार शिवेन्द्र रोहिताले बताउनु भयो ।
आफू पत्रकार भएको जानकारी दिँदै परिचय–पत्र देखाउँदा समेत प्रहरीले लठ्ठी प्रहार गरेको पीडित पत्रकार यादवले बताउनु भयो ।
पत्रकार यादवलाई प्रहरीले कुटपिट गरि रहँदा मोबाइलमा भिडियो खिचेको भन्दै मोबाइल नियन्त्रणमा लिएर भिडिओको हटाएर गरेर मोबाइलको स्क्रिन फुटाएको खोजतलास डटकमका पत्रकार सिवेन्द्र रोहिताले आरोप लगाउनु भएको छ ।
प्रहरीले आफूलाई समेत कुटपिट गरेको पत्रकार रोहिताको आरोप छ । पीडितले हालसम्म प्रहरीमा लिखित उजुरी गरेका छैनन् ।
नवजीवन हस्पिटलमा मृत्यु भएकी महिलाको शव लैजाने क्रममा प्रहरीमाथि पीडित परिवारले ढुङ्गामुडा गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको बताउनु हुँदै पत्रकारमाथि कुटपिट भएको घटनाबारे सोही क्रममा जानकारी पाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले बताउनु भयो ।
त्यहाँ खटिएका सबै टोलीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएर यथार्थ बुझी घटनामा प्रहरी दोषी देखिए कारवाही गर्ने डिएसपी मिश्रले बताउनु भयो ।
कुटपिटबाट घटनामा घाइते भएका पत्रकार यादवको धनुषा अस्पतालमा उपचार भएको छ ।