INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्याका दोषी रञ्जन कोइरालाको फैसला पुनरावलोकन गरी दोषीलाई कारबाही गर्न अधिकारकर्मीहरूको माग

पत्नी हत्या अभियोगमा कारागारमा सजाय भुक्तान गरीरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाप्रति विराटनगरका अधिकारकर्मीहरूले असहमति जनाएका छन् ।

साउन १४ गते विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरूले ०७७ साउन ८ गते सर्वोच्च अदालतले गरेको फैसला मानव अधिकार सिद्धान्त विपरीत भएको भन्दै अधिकारकमीहरूले सो फैसला पुनरावलोकन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

मानव अधिकार र न्याय एक अर्काका परिपूरक भएको र मानव अधिकारको अन्तिम संरक्षक न्यायालय हुने भएकाले न्यायप्रति पीडितको आस्था जागृत गराउन अधिकारकर्मीहरूले विज्ञप्तिमार्फत सरकारसँग माग गरेका छन् ।

०७७ साउन ११ गते सर्वोच्च अदालतले रञ्जन कोइरालाको मुद्दामा भएका फैसला पुनरावलोकन गर्ने भनि गरेको आदेशलाई अधिकारकर्मीहरूले स्वागत गर्दै हिंसामा परेका र अन्याय सहन बाध्य व्यक्तिहरूको मनमा न्याय प्राप्तिको सम्बन्धमा रहेको आशङ्का मेटिन नसकेको हुँदा कानुनी शासनको मर्यादा र देशको सर्वोच्च न्यायिक निकाय सदैव पीडितप्रति सम्वेदनशील हुन अधिकारकर्मीहरूले राज्यसँग आग्रह गरेका छन् ।

हत्या हिंसाका कसुदारको मनोबल उठाउने र पीडितलाई निराश तुल्याउने कुनैपनि फैसला मानव अधिकारको सिद्धान्त विपरीत भएकाले न्याय प्रतिको आम जनताको भावना बुझ्न सरकारसँग माग गरिएको अधिकारकर्मीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२० वर्ष कैद सजाय हुने घटनामा साढे आठ वर्ष मात्रै कैद सजाय हुने गरी भएको फैसलाप्रति असहमति जनाउँदै मानव अधिकारको रक्षा गर्न अधिकारकर्मीहरूले माग गरेका छन् ।

मानव अधिकार रक्षक परिषद् अध्यक्ष सोमराज थापा,मानव अधिकार रक्षक सञ्जाल प्रदेश १ अध्यक्ष मञ्जिता उपाध्याय,मानव अधिकार तथा वातावरण मञ्च अध्यक्ष यज्ञ शर्मा,इन्सेक कार्यक्रम अधिकृत बाग्मती कट्टेललगायत २१ जना मानव अधिकारकमीहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा मानव अधिकारको सिद्धान्तका आधारमा न्यायालयबाट न्याय सम्पादन गर्न माग गरिएको छ ।

अन्य

भिडियो