कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवराज नपा –३ का १९ वर्षीय प्रदीप भट्टराईलाई साउन ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले सोही दिन दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।
यसैगरी दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार ६१ वर्षीया वृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३ का ४४ वर्षीय खिमबहादुर वलीलाई साउन ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ०७७ वैशाख १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिए लगत्तै फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २७ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको थियो ।
रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–६ का २१ वर्षीय लक्ष्मण साहनीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले धम्की दिएर एक वर्ष अगाडीदेखि बलात्कार गर्दे आएको र अन्तिम पटक असार २८ गते बलात्कार गरेको भन्दै पीडितले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत बताउनु भयो । उजुरीका आधारमा कारवाही अगाडि बढाइएको डिएसपी खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।