INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्यालामा विभेद भाग्नु परेको महिला श्रमिकको गुनासो

जिल्लामा दैनिक रूपमा ज्याला मजदुरी गरी जिविकोर्पाजन गरिरहेका श्रमिक महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।

गैती र बेल्चा चलाउने काम पुरूष र महिला दुवैले गर्ने गरेका छन् तर ज्याला दिदा पुरूषलाई बढी र महिलालाई कम दिने गरेको अमरगढी नगरपालिका–७ पोखराकी श्रमिक महिला पार्वति भण्डारीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘दिनभरी पुरूषहरूसँगै समान प्रकृतिको काम गर्छौँ । तर, ज्याला दिदा विभेद गरिन्छ ।’

अमरगढी नगरपालिका–१ की श्रमिक महिला सुनिता टमटाको पिडा पनि उस्तै छ । दिनभरी पुरुषहरु सरह काम गरेपनि ज्याला दिदा पुरुषहरुको भन्दा महिलाहरुलाई कमै दिने गरेको टमटाले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘ समान काममा पुरुषलाई दैनिक ७ सय रुपियाँ ज्याला र महिलालाई ५ सय रुपियाँ मात्र ज्याला दिने गरिएको छ । पुरुषहरुको तुलानामा हामी महिलाहरुले मेहनत र इमान्दारीताका साथ श्रम गर्छौँ तर ज्यालामा भने विभेद कायमै छ । ’

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले नगर क्षेत्र भित्र समान कामको फरक ज्याला भएको आफूलाई जानकारी भएको र सरकारले तोके बमोजिमको ज्याला श्रमिकले पाउने वातावरण बनाउनका लागि आफूले पहल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नगर क्षेत्र भित्र हुने सम्पूर्ण निर्माण कार्यहरुमा नगरपालिकाले अनुगमन गरी ठेकदार र काम दिनेहरुलाई बराबर ज्यालाको व्यवस्था गराउँछौँ ।’

समान कामका लागि समान ज्याला पाउने कानुनी व्यवस्था भएपनि अहिलेसम्म कुनै पनि महिला श्रमिकहरुले ज्याला कम पाएको भनी प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा उजुरी नआएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘उजुरी आएमा कानुन अनुसार कारवाही गर्न प्रशासन कार्यालय तयार छ ।

अन्य

भिडियो