आठबिसकोट नगरपालिका–९ राडीकी २१ वर्षीया नेहा विष्टलाई आठबिसकोट नगर प्रहरी र नेपाल प्रहरीले जेठ १ गते कुटपिट गरेको घटना असार २३ गते सार्वजनिक भएको छ ।
महिलालाई नगर प्रहरी र नेपाल प्रहरीले निर्घात कुटिरहेको भिडियो असार २३ गते सामाजिक सञ्जालमा आएपछि घटना सार्वजनिक भएको हो ।
पीडित महिलाले आफू जाजरकोटबाट राडी बजार आउँदा तल्लो बजार झुलुङ्गे पुलमा मदिरा सेवन गरेको भन्दै अपशब्द प्रयोग गरेर गाली गलौज गर्दै रोकेको, नरोक्न आग्रह गर्दा आफूले प्रहरीलाई धकरपक्कड गरेको र मदिरा सेवन गरेको स्वीकार गरेको पीडित महिलालले इन्सेक प्रतिनिलिाई फोन संवादमा बताउनुभयो ।
त्यही बाहानामा आठबिसकोट नपामा ल्याएर कुटपिट गर्दा नौ दिनसम्म उठ्न नसकेको पीडितको भनाई छ । घटनाबारे कसैलाई भने जेल हाल्ने धम्की दिएपछि कसैलाई नभनेको र आर्थिक अभावमा उपचार नगरेको पीडितले गुनासो गर्नुभयो ।
नगर प्रमुख गोर्खबहादुर केसीद्वारा २४ गते जारी विज्ञप्तिमा घटनाबारे सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक भएपछि मात्र आफूले जानकारी पाएको भन्दै ति महिलाको गल्ती भएपनि प्रहरीले कुटेकोप्रति ध्यानाकर्षण भएको कुरा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले उक्त घटनाको बारेमा अनुसन्धान गर्न इन्स्पेक्टर कविराज रोकायको संयोजकत्वमा आन्तरिक छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कुटपिटमा संलग्न एक जना प्रहरी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएर प्रहरी अस्पतालमा उपचार गराइरहेको र अन्यलाई भने थप अनुसन्धानका लागि जिल्लामा बोलाइएको छ ।
इन्सेकलगायत महिला अधिकाराकर्मीसँगको भेटमा डिएसपी केसीले सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नलाई कानुन बमोजिम कारवाही गरिने बताउनुभयो ।