INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन

वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन ।

२०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा पाँचसम्म अध्ययन–अध्यापन हुने गरेको छ ।

एक बालविकास सहजकर्तासहित चार जना शिक्षक कार्यरत यस विद्यालयमा १ सय ३५ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

विद्यार्थीहरू शौचालय जानु पर्दा खेतमा जान्छन् भने शिक्षकहरू विद्यालय परिसर बाहिर जाने गरेको स्थानीय दीपेन्द्र यादवले बताउनु भयो ।

हरपतगंज वडाका लागि चालू आर्थिक वर्षमा १ करोड १ लाख ८१ हजार कुल बजेट छुट्याइएकोमा ३३ लाख रुपियाँ मात्र खर्च भएको र ६६ लाख रकम फ्रिज हुन लागेको स्थानीयहरूको भनाइ छ ।

वडामा २२ लाख रुपियाँको खर्च गरेर छठीमाताको पूजा गर्नका लागि घठघाटको निर्माण भएको छ तर विद्यालयमा शौचालय निर्माण हुन सकेन ।

यसपटक पनि वडाको बजेटबाट विद्यालयमा शौचालय निर्माण हुने योजना परेको छैन ।

विद्यालयका प्रधानाध्यापक शिवनारायण यादवसँग विद्यालयमा शौचालयको व्यवस्था बारे सोधपुछ गर्दा शौचालय निर्माणको क्रममा रहेको जानकारी दिनु भयो ।

उहाँले शौचालयको ट्याङ्की निर्माण भएको तर लकडाउनका कारण शौचालय निर्माण हुन नसकेको बताउनु भयो ।

प्राधानाध्यापक यादवले शौचालयको अभावमा विद्यार्थी शिक्षक सबैले समस्या खेप्नु परेको स्विकार्नु भयो । “हाम्रो पीडाका बारेमा नसोध्नुस्”–उहाँले भन्नु भयो–“हाम्रो पीडा लामो समयदेखि कसैले सुनेनन् ।”

वीरगंज मनपा–२० का वडा अध्यक्ष पारस साहले शौचालयको निर्माण र अन्य कामको लागि आफू सक्रिय रहेको बताउनु भयो ।

उहाँले पहिला विद्यालयको वरिपरि खुला ठाउँ रहेकोले शौचालयको आवश्यकता नपरेको भन्दै शौचालय निर्माणमा ध्यान नगएको बताउनु भयो ।

“खुला दिशामुक्त अभियान सुरू भएपछि रिङ्ग राखेर शौचालय बनाउन खोज्दा विद्यालयमा जमिनको अभाव देखिएकोले शौचालय बनेन”–उहाँले भन्नु भयो–“निर्वाचित भएर आएपछि विद्यालय भवन भत्काएर नयाँ बनाउने काम हुँदैछ र त्यसैमा शौचालयको पनि डिजाइन गरिएको छ ।

दुई ओटा शौचालय बन्दै गरेकोमा कोरोना कहरका कारण निर्माण रोकिएकोले नगरस्तरिय योजनामा राखेर विद्यालय सञ्चालनमा आउनु भन्दा अगावै शौचालय बनाई सक्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो