१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको आरोपमा प्रहरीले गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई ०७७ असार २४ गते व्यास नपा– ११ बाट गिरफ्तार गरेको छ ।
प्रहरीले आरोपित दुलाहा सहित उनका बुबा, बालिकाको बुबा, आमा र पण्डितलाई समेत मण्डपबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताउनु भयो ।
बालविवाह भइरहेको सूचना पाएपछि उनीहरुलाई तरुन्तै गिरफ्तार गरिएको र असार २५ गते तनहुँ जिल्ला अदालतबाट देवानी फौजदारी संहिताको विवाह सम्बन्धी कसुर अन्तरगत वाल विवाह सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी तिमल्सिनाले इन्सेक प्रतिनिधिलाई टेलिफोन मार्फत जानकारी गराउनुभएको थियो ।
इन्सेक प्रतिनिधिले सो घटना बारे वडाका अध्यक्ष निरबहादुर खड्कासँग कुरा गर्दा वडाध्यक्ष खड्काले आफूले पनि सो घटनाको बारेमा जानकारी पाएको बताउनुभयो । व्यास नगरपालिकाका बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख सन्तोष गोदारले बालविवाह सम्बन्धी सचेतना कार्यक्रमको अझै आवश्यक रहेको बताउनुभयो ।