INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गममा उपचार सम्भव नभएका सुत्केरी महिलाहरूको निःशुल्क हेलिकप्टरमार्फत उद्दार गर्ने गर्दछ । तर, बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौँकी ३५ वर्षीया जैमती लुहारले भने सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा तीन दिनसम्म पनि उक्त सुविधा पाउन सक्नु भएन ।

असार १४ गते सुत्केरी हुन देहिमाण्डौँ स्वास्थ्य चौकीमा लैजाँदै गर्दा जैमतीले बाटोमै मृत बच्चा जन्माउनु भयो । सुत्केरी भएपछि रगत बग्न नरोकिएकाले जिल्ला अस्पताल पुर्‍याएको जैमतीका आफन्तले बताए ।

जिल्ला अस्पताल बैतडीमा पनि उपचार सम्भव नभएपछि जैमतीलाई असार १४ गते राति नै डडेल्धुरा पठाइयो ।

डडेल्धुरा अस्पतालमा तीन दिन राख्दा पनि उहाँको स्वास्थ्यमा सुधार नभएपछि असार १८ गते नेपालगञ्ज रेफर गरियो । तर, अत्यधिक रक्तश्रावकै कारण साउन १८ गते राति टोटीको बुडरमा उहाँको ज्यान गयो ।

राष्ट्रिपति महिला उत्थान कार्यक्रमबाट सुत्केरी व्यथा लागि दुर्गमका स्वास्थ्य संस्थामा उपचार हुन नसकेका महिलाहरूलाई उद्दार गरिन्छ भन्ने सुनेको भएपनि काकीका लागि कसैले पहल नगरिदिएको जैमतीका भतिजा करन लावडले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामी गरिबका लागि कस्ले यस्तो पहल गरिदिन्छ र ?’ असार १४ गते जिल्ला अस्पतालमा जैमतीको अवस्था गम्भीर भएपछि डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख बसन्तराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘रगत बग्न नरोकिएपछि अस्पतालमै कार्यरत एक जना नर्सले रगत दिएर डडेल्धुरा रिफर गरिएको हो ।’ हेलिकप्टरबाट उद्दारका लागि भने डडेल्धुरा पठाएकाले धेरै थाहा नभएको जोशीको भनाइ छ ।

अन्य

भिडियो