INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका अध्यक्षमाथि हातपात

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले आफूलाई आक्रमण गरी सभास्थलबाट भाग्न बाध्य बनाएको असार ११गते गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनमा बताउनु भयो ।

गाउँपालिकाका उपाध्यक्ष ४१ वर्षीय डम्बरबहादुर गिरी, वडा न.१ का अध्यक्ष ४६ वर्षीय त्रिलोचन सापकोटा, कार्यपालिका सदस्य ३० वर्षीय सागर पार्तेल लगायतले बुधवार गाउँसभास्थलमा आफूमाथि लछारपछार र सांघातिक आक्रमण गरेको अध्यक्ष लिङदेनले पत्रकार सम्मेलनमा दावी गरेका छन् ।

आक्रमणपछि आफू सभा छोडेर हिँडेको र त्यही मौकामा गाउँसभा सञ्चालन गरिएकोप्रति अध्यक्ष लिङदेनको आपत्ति छ । अध्यक्ष लिङ्देनले आक्रमण गरिएपछि आफू ज्यान जोगाउन पनि गाउँसभा छोडेर हिँड्नुपर्ने अवस्थामा पुगेको बताउँनु भएको छ ।

गाउँसभा उद्घाटन भएर नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि गाउँपालिका सदस्यहरुले बजेट विनियोजन समानुपातिक नभएको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरुको असन्तुष्टिपछि आवश्यक छलफलपछि टुङ्ग्याइने बताइरहँदा आफूमाथि आक्रमण भएको अध्यक्ष लिङदेनको दावी छ ।

‘हल्दीवारीमा जुन घटना भएको छ, बहुमतको आडमा नेकपाका साथीहरुले जुन दम्भ देखाउनु भएको छ, यसको जिम्मेवारी उहाँहरुले लिनु पर्छ’, पत्रकार सम्मेलनमा अध्यक्ष लिङदेनले भने ।

उपाध्यक्ष डम्बर गिरीले अध्यक्ष रविन्द्र लिङदेनले गलत आरोप लगाएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

गाउँपालिकामा तोडफोड

हल्दिवारी गाउँपालिकाको गाउँसभा चलिरहेको बेला केही व्यक्तिहरु पसी सभाकक्षको कुर्सी, ढोका, जस्ता छाना टेबल सिसा तोडफोड गरेको एक विज्ञप्ति मार्फत जनाइएको छ । हल्दिवारी गाउँपालिकाका २९ जना जनप्रतिनिधिमध्ये २२ जनाले हस्ताक्षर एक विज्ञप्ति जारी गरी अध्यक्ष रविन्द्र लिङदेनले बाहिरका मान्छेलाई उकासी हुलहुज्जत गर्न लगाएर हिँडेको उल्लेख गरिएको छ । गाउँसभा चल्दै गरेको समयमा आक्रमण गर्नेहरुलाई कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय झापामा चौध जना विरुद्ध सार्वजनिक मुद्धा जाहेर गरिएको हल्दिबारी गाउँपालिकाका वडा नं १ का अध्यक्ष त्रिलोचन सापकोटाले फोन मार्फत जानकारी दिनुभयो । विज्ञप्तिमा उपाध्यक्ष गिरीसहित नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्वद्ध जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् । हल्दिबारी गाउँपालिकामा उपाध्यक्षसहित नेकपाका बहुमत जनप्रतिनिधि छन् भने अध्यक्ष राप्रपाका हुन् । अध्यक्षसहित राप्रपा र काँग्रेस अल्पमतमा छन् ।

अन्य

भिडियो