INSEC Online

📅 २०८३ जेष्ठ २१

सार्वजनिक रूपमा कुटिए दलित बालकहरू

राजगढ गाउँपालिका–४ बेल्ही टोलका १७, १६ तथा १५ वर्षीय बालक र १८ वर्षीय कन्तलाल सदालाई चोरीको आरोपमा गाउँलेहरूको पञ्चायतीको निर्णयले ११/११ पटक बाँसको सिर्कनाले जेठ २९ गते कुटपिट गरी २ हजार ५ सय रुपियाँ जरिबाना तिर्न लगाइएको पीडित परिवारले इन्सेक प्रतिनिधिलाई जनायो ।

गाउँकै जनता माविको ट्युबवेलमा जडान गरिएको पानी तान्ने मोटर र बेचन मण्डलको खेतमा सिञ्चाई गर्न राखेको पम्पिङ्ग सेट लगायतको चोरीको आरोपमा उनीहरूलाई वडा कार्यालय र विद्यालय अगाडि रहेको कृषि हाट सेडमा सार्वजनिक रूपमा दण्ड सजाय दिइएको हो ।

पञ्चायती व्यवस्था अन्त्य भए पनि गाउँहरूमा अझै पञ्चायतीका नाममा गरिब, दलित, महिला र अल्पसङ्ख्यकमाथि दमन र थिचामिचो हुँदै आएको पीडित परिवारका सदस्यले इन्सेक प्रतिनिधिलाई बताए ।

वडा अध्यक्ष हेमनारायण साह, निकटम प्रतिद्वन्द्वी राजन भनिने राजकुमार मण्डल, गाउँपालिका उपाध्यक्षका पति विशेश्वर मण्डल, रामनाथ मण्डल, शिवलखन मण्डल, चन्द्र मण्डललगायत १ सय जनाको उपस्थितिमा बाँसको लठ्ठीले बालकहरूलाई कुट्न लगाएको र अभिभावकहरूबाट जरिवाना असुलेको मेदी सदाले बताउनु भयो ।

अभिभावकहरूले गहना बन्धकी राखेर र चर्को व्याजमा ऋण लिएर जरिबाना तिरेपछि मात्र छोराहरूलाई घर फर्काइएको ओपिला सदाले बताउनु भयो ।

फैसला गर्नु अगावै कुटपिट गर्न थालेपछि १६ वर्षीय बालकले निर्णय भन्दा पहिले नै सजाय दिन मिल्दैन भनेको र उहाँलाई समेत गाउँलेहरूले कुटपिट गरेको पीडितले जानकारी दिनु भयो । पञ्चायती बस्नु अगावै १५/२० ओटा बाँसको छडी राखेकोले पनि उनीहरूको नियत र निर्णय पहिले नै स्पष्ट रहेको सकुनीदेवी सदाले बताउनु भयो ।

गाउँलेहरूको पञ्चायतीले चोरीको सामान किन्दै आएको आरोपमा वडा अध्यक्षका अर्का उम्मेदवार कुलदेव साहलाई २१ हजार रुपियाँ जरिबाना तिर्न लगाएको छ । सबै जरिबानाको रकम रामजानकी मन्दिर निर्माणमा खर्च हुने वडा अध्यक्ष साहले जानकारी दिनु भयो ।

‘चोरी गरेको स्वीकारेपछि र सामान समेत बरामद भएपछि उनीहरूलाई थुनामा पठाउनु पर्दथ्यो ।’ वडा अध्यक्ष साहले भन्नु भयो–‘थुनामा पठाउँदा झनै बढी सजाय र खर्च हुने भएकाले अनुशासनमा राख्न गाउँघरमै सजाय दिने गाउँलेहरूको फैसला अनुसार भएको हो ।’ प्रहरी, प्रशासनमा जिम्मा लगाऔँ कि आफ्ना छोराहरूलाई सुधार्छौ भनेर सोध्दा गाउँमै निर्णय गरौँ भनेर पञ्चायती बसेर सजाय निर्धारण भएको र मुसहर समुदायकै सिपाही कारी सदाबाट कुट्न लगाइएको उहाँले बताउनु भयो ।

पीडितका अभिभावकहरूले जतिसुकै बिन्ती गरे पनि बाँसको सिर्कनाले कुट्ने र जरिबाना गराउने फैसला जबरजस्ती भएको र मान्न बाध्य गराइएको भन्दै बासुदेवले दलितमाथि हुँदै आएको थिचोमिचोको श्रृङ्खलाको पछिल्लो घटना भएको दुःखेसो गर्नु भयो ।

अन्य

भिडियो