कावासोति नगरपालिका–८ शिलत चोककी ८२ वर्षीया सासू जसोधा अधिकारीको जेठ १६ गते राति हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीया बुहारी निरा खत्री अधिकारीलाई जेठ १७ गते गिरफ्तार गरको छ ।
आरोपित निराले जसोधाको हत्या गरेको भन्दै आरोपितका पति चन्द्रकान्त अधिकारीले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिनुभएको थियो ।
सोही उजुरीको आधारमा आरोपितलाई हिरासतमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सइ टिकाराम पोख्रेलले बताउनुभयो ।
प्रहरीलाई जेठ १७ गते जसोधा शौचालयमा लडे्र मृत्यु भएको भन्दै जानकारी आएको र मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा जेठ १७ गते गरिएको पोष्टमार्टमको रिपोर्ट मृत्युको कारण शङ्कास्पद देखिएपछि प्रहरीले सोही दिनबाट अनुसन्धान सुरू गरेको थियो ।
निरा र जसोधाबीच यसअघि पनि विवाद हुनेगरेको र त्यस्तै विवादको क्रममा जसोधाको जेठ १६ गते राति बोधो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको सइ पोख्रेलले बताउनुभयो ।
घटनास्थलबाट सिलौटो र हसिया बरामद भएको र घटना हाल अनुसन्धानकै क्रममा रहेको उहाँले बताउनुभएको छ ।