राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जेठ १३ गते जबाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ ।
गृहमन्त्री थापाले उक्त समितिमा नेपाल प्रहरीका एसएसपी, अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयका उपसचिव रहेको जानकारी दिनुभएको छ ।
जेठ १० गते रूकुम पश्चिम चौरजाहारी-८ की १७ वर्षीया कथित माथिल्लो जातकी बालिकासँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका-४ बाट नवराज बिकसहितको समूह चौरजहारी पुगेको थियो ।
कथित तल्लो जातका युवा भएर कथित माथिल्लो जातकी बालिकालाई विवाह गर्नका लागि लिन आएको भनेर स्थानीयले लखेटेर कुटपिट गर्दा तीन जनाको ज्यान गएको पीडित पक्षको आरोप छ ।
सो घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीको नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली जेठ १३ गते घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।