INSEC Online

📅 २०८३ जेष्ठ २१

क्वारेण्टाइनमा रहेकालाई वडाध्यक्षद्वारा जबरजस्ती निकाला

भानु नगरपलिका–२ स्थित शारदा कलेजमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिएका एक व्यक्तिलाई सो वडाका अध्यक्ष अर्जुन खड्काले जेठ ७ गते राति क्वारेण्टाइनबाट जबरजस्ती निकालेका छन् । जेठ ७ गते  साँझ काठमाडौंबाट आएका सो नगरपालिकाको वडा नम्बर ९ घर भएका ती व्यक्तिलाई कोरोना सङक्रमण भएको हुँदा क्वारेन्टाइनमा राख्न नहुने भन्दै वडाध्यक्ष खड्काको नेतृत्वमा मध्यरातमा उनलाई क्वारेण्टाइनबाट निकालिएको भानु नपाका बरिष्ठ अधिकृत शुनील पाण्डेले जानकारी दिनु भयो ।

क्वारेण्टाइनबाट निकालिएपछि बाटोमा अलपत्र परेका ती व्यक्तिलाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईको पहलमा राति नै एम्बुलेन्समा दमौली अस्पताल पु¥याइएको थियो । उनलाई जेठ ८ गते दिउँसो आफ्नै घरको क्वारेण्टाइनमा लगेर राखिएको भट्टराईले बताउनुभयो । नगरपालिका भित्र १० जना क्वारेण्टाइनमा रहेको भट्टराईले बताउनुभयो ।

घटना सार्वजानिक भएपछि जेठ ८ गते प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले उक्त क्वारेण्टाइनको निरिक्षण गर्नुभएको थियो । क्वारेण्टाइनको निरिक्षण पछि प्रजिअ अधिकारीले क्वारेण्टाइनमा बस्नेहरूको सम्मान गर्न र क्वारेण्टाइनलाई व्यवस्थित गर्न निर्देशन दिएको बताउनुभयो ।

यस सम्बन्धमा वडाध्यक्ष खड्काले क्वारेण्टाइनमा बसेर हल्ला गरेको कारण सम्झाएको मात्र बताउनुभयो । क्वारेण्टाइनबाट निकालेको भन्ने कुरा हल्ला मात्र भएको भन्दै आफ्नै वडा भित्र रहेको क्वारेण्टाइनमा सबैलाई सम्मानका साथ राखिने बताउनुभयो ।

अन्य

भिडियो