व्यास गाउँपालिका – १ छांगरू र तिङ्करका स्थानीयबासीहरूले नेपाल सरकारले नेपाली भूमिबाट बाटो निर्माण कार्य सुचारू नगरेका कारण आफूहरू जन्मथलो जानबाट वन्चित हुँदै आएको गुनासो गरेका छन् ।
पञ्चायतकालमा तत्कालिन व्यास गाउँपालिका – १ छांगरू र तिङ्करसम्म पुग्ने नेपालको बाटो भएको भए पनि बहुदल आएपछि बाटो मर्मत नगरिएका कारण आफूहरू नेपालको बाटो भएर गाउँ जानबाट वन्चित भएको व्यासका स्थानीय दानसिंह तिङ्करले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो –‘पञ्चायतकालमा व्यासको छांगरू र तिङ्करसम्म पुग्ने नेपालको बाटो प्रयोग हुन्थ्यो । भारतीय नागरिक पनि दार्चुला हुँदै कैलाश मानसरोवरको दर्शनको लागि जाने गर्दथे । बहदुलपछि यो बाटो मर्मत हुन सकेन् । बाटो मर्मत नहुँदा आफूहरूले भारतीय बाटो प्रयोग गर्न बाध्य छौँ ।’
गत मङ्सिरमा खलंगा झरेका झण्डै १ सय बढी व्यासी परिवारहरूले नेपालमा बाटो नहुँदा कुञ्चा (बसाइसराइ) गर्न पाएका छैनन् । नेपालको भूभागबाट बाटो नभएका कारण भारतीय भूमि भएर गाउँ जान बाध्ये व्यासी समुदाय लकडाउनका कारण भारतीय बाटो बन्द भएपछि खलंगामा नै बस्न बाध्य भएका छन् ।
भारतीय बाटो हिडेर भएपनि अहिलेसम्म व्यासमा नेपाली नागरिकको पहिचान दिलाएको दानसिंह तिङ्कर बताउँनु हुन्छ । राज्यको उपस्थिती नहुँने ठाउँमा आफूहरूले सीमाको पहरेदारी गरी राष्ट्रियता जोगाउँदै आएको भए पनि बहुदलिय सरकारले व्यास जाने बाटो बनाउँनमा कुनै चासो नै नदेखाएको तिङ्करको आरोप छ ।
प्रत्येक वर्षको वैशाख पहिलो साता भित्रै कुञ्चा (बसाइसराइ) सर्ने व्यासी समुदयाहरू आफ्नै भूमि भएर गाउँ जाँन नपाएकोमा दुखित छन् । विगत वर्षहरूमा भारत सरकारले समयमै अनुमति दिदा समयमै कुञ्चा सर्ने गरेको भए पनि यो वर्ष लकडाउनका कारण भारतीय सरकारले अनुमति नदिएका कारण आफूहरूले बसाइसराइ गर्न नसकेको जितसिंह बोहराले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो –‘ बसाइसराइ नभएका कारण फापर,उवा,नप्पल, आलु र चोतो लगाउन ढिलो भइसकेको छ । हामी हाम्रै भूमि भएर समयमै कहिले गाउँ जना पाउँछौँ ? हाम्रो बाटो कहिले बन्छ ?
स्थानीय दानसिह तिङ्करीले सङ्घीयता आएपछि सङ्घीय, प्रदेश, स्थानीय सरकार र विभिन्न निकायबाट झण्डै १ करोड रूपियाँ व्यास जोड्ने घोरेटो बाटो मर्मत भन्दै खर्च भएको सुनिदै आएको भए पनि आफूहरूले बाटो अवरूद्ध भएका कारण हिड्न नपाएको गुनासो गर्नु भयो । पञ्चायतकालमा कामको लागि खाद्यान्न कार्यक्रम अन्तर्गत व्याससम्म घोरेटो बाटो निर्माण भएको भए पनि हाल यो क्षेत्रमा झारो टार्ने गरी काम गर्ने गरेको तिङ्करीको आरोप छ ।
भारतले नेपालको उपस्थिती नहुँदा एकतर्फी सडक निर्माण गरिरहेको बताउँदै नेपाल सरकारले पनि नेपाली सेनामार्फत तत्काल निर्माण कार्य अघि बढाउनु पर्ने उद्योग वाणिज्य सङ्घ,दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘हाम्रो पनि व्यासको छांगरूसम्म राज्यको उपस्थिती र सडक निर्माण भए भारतबाट हेपिनु पर्ने अवस्था आउँदैन् । सडक नहुँदा नेपालले बाह्रैमास व्यासको छांगरू र तिङ्करमा राज्यको उपस्थिती गराउन सकेको छैन् । राज्यको उपस्थिती गराउन यो क्षेत्रमा सडक निर्माण अनिवार्य छ । ’
व्यास गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोकसिंह बोहराले व्यासी समुदायले वैशाख महिना भित्रै खेतीपाती लगाउन सकेनन् भने ढिलो गरी लगाएको खेती नफल्ने बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘चैत महिनाको दोस्रो साताबाट कुञ्चा सार्ने विषयमा सरोकारवाला निकायलाई जानकारी गराएको थिए । तर, अहिलेसम्म व्यासीबासीहरूले कुञ्चा सर्न पाएका छैनन् ।
व्यास गाउँपालिकाले व्यासीहरूको कुञ्चा सार्नको लागि भन्दै बाटो मर्मतको काम थालेको जनाएको छ । तर, मौराभेलमा विष्फोटक पदार्थ नहुँदा बाटो खुलाउन सकिने अवस्था नरहेको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताउनु भयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा बाटो मर्मतको लागि २४ लाख बजेट विनियोजन गरेर काम सुचारू गरिएको भए पनि तत्काल नै बाटो सञ्चानलमा आउन सक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष बुढाथोकीको भनाइ छ ।
उहाँले भन्नु भयो –‘तम्बाकु र अन्य क्षेत्रमा बाटो निर्माण भइरहेको छ । तर, मौराभेलमा बाटो खुलाउनका लागि विस्फोटक पदार्थ आवश्यक छ । यो कार्य हामी गर्न सक्दैनाँै । सङ्घीय र प्रदेश सरकारले यो क्षेत्रको बाटो मर्मतका लागि ध्यान दिन आवश्यक छ । गाउँपालिकाको बजेटले मात्रै बाटो मर्मत गर्न नसकिने अवस्था छ ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले व्यासका नागरिकलाई गाउँ पठाउने विषयमा भारतसँग समन्वय भइरहेको बताउनु भयो । ‘हामीले भारतसँग निरन्तर समन्वय गरिरहेका छौँ,’ उहाँले भन्नु भयो, ‘भारतको जवाफ आइसकेको छैन् ।’
भारतले महाकाली नदी किनारै भएर लिपुलेकसम्म सडक पु¥याउँदा नेपाल सरकारले भने व्यास गाउँपालिका सदरमुकाम सुनसेरासम्म मात्रै टङयाक खोलेको अवस्था छ । आर्थिक वर्ष ०६५ र ०६६ बाट निर्माण सुरू गरिएको तिङ्कर सडक हालसम्म ४० किलोमिटर मात्रै टङयाक खोलिएको छ ।
हालै मात्र नेपाल सरकारले दार्चुला तिङ्कर सडकको ७८ किलो मिटर सडक नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय गरेसँगै जिल्लाबासीहरूले निर्माण कार्य तत्काल अघि बढाउन माग समेत गरेका छन् ।
भारत पिथौरागढ जिल्लाको धार्चुला तहसिल अन्तर्गत पर्ने यो क्षेत्रमा तावाघाटदेखि कालापानी लिपुलेकसम्मको सडकको वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका छन् । भारतले यो सडक निर्माण गरेसँगै सडकको पुहँच नभएका भारतका सात गाउँ क्रमसःबुदी, गव्र्याङ, नपल्चु, गुञ्जी, नाबी, रोकाङ्ग, कुटी र नेपालतर्फ व्यास गाउँपालिका वडा नम्बर १ छाँगरू र तिङ्करबासीलाई प्रत्यक्ष राहत हुने व्यासका स्थानीयहरूको भनाइ छ । यदपी नेपाल सरकार र नेपाली नागरिकहरूले भारत सरकारले नेपाली भूभाग मिचेर बाटो निर्माण गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।