धुर्कोट गाउँपालिका–५ को धनार्जी गाउँ । तम्घास–सिमलटारी–प्युठान सडकखण्डको छेउमा पर्छ । यहाँ करिव २५ घर परिवार बसोबास गर्छन् । ३० देखि ३५ जनाका घडेरी पनि छन् ।
सोही ठाउँका रामप्रसाद भण्डारीले २०४० सालमा स्थानीय एक व्यक्तिसँग १ हजार १ सयमा घडेरी किने । त्यो बेला उनी २२ वर्षका थिए । अहिले ६० लाग्न आँटे । उनीसँग तन्नेरी हुँदा किनेको जग्गाको बुढेसकालमा समेत लालपुर्जा छैन । उनले पटक–पटक आफूहरू बसेको जग्गाको नाप नक्सा भएको भएपनि आफ्नो हातमा लालपुर्जा नआउँदा दुःख लागेको बताए ।
उनीसहित धनार्जीको सिङ्गो गाउँ लालपुर्जाविहीन भएको चार दशक पुग्न थाल्यो । ‘सास भएसम्म आस छ । विद्यालयको जग्गा भएकाले अझै प्रतिक्षामा छौँ ।’–उनले भने–‘खै ! बाँचुञ्जेलमा लालपुर्जा हात लागे छोरा नातिलाई हुन्थ्यो ।’
उनको एक रोपनी जग्गा छ । केहीको दुई रोपनी भएपनि धेरैको एक रोपनी भित्रै जग्गा रहेको भण्डारीले बताए । तत्कालिन पञ्चायतले हिमालय प्राविलाई जग्गा दिएको थियो । विद्यालय सञ्चालन गर्न समस्या भएपछि विद्यालयले स्थानीयलाई घडेरीहरू विक्री वितरण गरेको स्थानीय दामोदर भण्डारीले बताए ।
आफुहरूलाई जग्गा र विद्यालयलाई पैसा हुने भएकाले जग्गा किने पनि विद्यालयले लालपुर्जा दिलाउन नसकेको उनले बताए । विद्यालयको नाममा लालपुर्जा आएको भन्ने जानकारी पाए पनि आफूहरूले नपाएको उनले गुनासो गरे ।
लालपुर्जा नभएका कारण त्यस्तो जग्गाबाट धितो–जमानी राखेर वित्तीय कारोबार गर्न नमिलेको भण्डारीले बताए । साथै विक्री वितरण गरेर अन्यत्र जान पनि सार्है मुस्किल परेको दुखेसो पोखे । ‘विद्यालयको विश्वासमा धेरै परिवारले ठुलो लगानीमा पेसा व्यावसाय र घर बनाएका छन् ।’–उनले भने–‘तातो दुध निल्नु कि उकेल्नु भन्या जस्तो भइयो ।’ लालपुर्जा नभएकै कारण १० घरपरिवारले अहिलेसम्म घर निर्माण समेत गर्न सकेका छैनन् ।
त्यस्तै लालपुर्जा नभएकै कारण भूकम्पले क्षति पुर्याए पनि राहत नपाएको लालपुर्जाविहीन परिवारहरूको गुनासो छ । करिव दुई रोपनी जग्गा भएका स्थानीय हुमा भण्डारीले जग्गाको लालपुर्जा आफ्नो पुस्ताले पाइएला भन्ने आशै नभएको बताए ।
लामो सयमदेखिको समस्या राष्ट्रिय स्तरबाट समाधन हुने आशा रहेपनि स्थानीयको आक्रोश आफूहरूले सुन्नु परेको हिमालय प्राविका प्रधानाध्यापक तुल्सीराम भण्डारीले बताए ।
प्रध्यानाध्यापक भण्डारीले विद्यालयको नाममा लालपुर्जा आएकाले धनार्जी गाउँका परिवारसम्म पुर्याउन पहल भइरहेको बताए । स्थानीयबासीहरू भने विद्यालयको बेवास्ताका कारण लालपुर्जा पाउन नसकेको आरोप लगाउँछन् ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बसोबास भएर पनि लालपुर्जा नभएकाहरू धनार्जीबासी मात्रै नभएको बताए । पराजुलीले आर्थिक स्रोत नभएर विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्न सार्वजनिक जग्गा थुप्रै ठाउँमा विक्री भएको बताए । उनले धेरै ठाउँमा यो समस्या भएकाले जग्गाको पैसा तिरेका तर लालपुर्जा नभएकाहरूलाई निकास दिनुपर्ने बताए ।