शरीरमा दौरा सुरवाल । दौरा माथि खरानी रङ्को ज्याकेट । कम्मरमा पेटी । काँधमा गलबन्दी । शिरमा ढाका टोपी । गोडामा छालाको काला जुत्ता । हातमा यात्राको साहारा लठ्ठी टेकेका उनी आधुनिक जमानामा सूचना दिने पुरानो परम्पराका एक साक्षी मात्रै नभएर यस पेसामै संलग्न छन् ।
जीवनको उतरार्धसम्म पनि यसैमा रमेका पात्र हुन् आँधिखोला गाउँपालिका–१ सिरुबारीका नरबहादुर कटुवाल । सुन्दा अचम्म लाग्न सक्छ अहिलेको सूचना र प्रविधिको युगमा पनि पहिले पहिलेकै कटुवाल प्रथा कायमै छ भन्दा । तर, स्याङ्जाको सिरुवारी पञ्चमुलमा भने अझै पनि पुरोनो प्रथा कायम नै छ । गाउँमा केही नँया काम गर्नुपर्यो भने छलफल भेलाका लागि मानिस जम्मा पार्न वा सरकारी कार्यलयबाट प्रदान गरिने सेवाका बारेमा स्थानीयलाई खबर गर्नु परेमा खबर लिएर टोलटोलमा नरबाहादुर कटुवाल (साइला) पुगिहाल्छन् ।
घरमा आराम गरेर बस्ने बेलामा ८१ वर्षीय नरबहादुर कटवालले बाउ बाजेको शेखपछि आफूले सम्हालेको पेसा अझै छाड्न सकेका छैनन् । बुढ्यौली लागेका कटुवालले भने–‘बाउ बाजेले गर्दैै आएको पेसा छाड्न सकिएन । बुढी बितेको पनि २२ वर्ष भो । दुई छोर भए पनि जेठो छोरा हुमबहादुर १९ सालमा हराएको अहिलेसम्म पत्तो छैन । घरमा बुहारी र नाती छन् । म बुढो गाउँमा केही काम पर्दा सबैलाई खबर गर्ने काम गर्छु । वर्षको एक झुत्ती मकै र एक पाथी कोदो मङ्सिरमा गाउँलेले दिन्छन् ।’
सिरुबारीका करिव ५ सय घरमा वडा भित्र हुने विभिन्न कार्यक्रमको खबर पुर्याउने जिम्मेवारी लिएका नरबहादुरलाई हिजोआज हिँड्न गार्हो हुन थालेको छ । सबै गाउँलेले चाडबाड् मनाउन खर्च दिने गरेको बताउँदै यसै पेसाबाट घरपरिवारको पालन पोषण गर्दै आएको कटवालको भनाई छ ।