छाउपडी गोठमा मृत्यु भएकी साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजु २५ वर्षीय छत्र रावतलाई मङसिर १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
मृतकका पक्षबाट जाहेरी नआएपनि प्रहरी प्रतिवेदनका आधारमा माथिल्लो निकायको निर्देशनमा रावतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ ।
मृतकका पति भारतमा र सासूससुरा घर बाहिर रहेको अवस्थामा घरमुलीको रूपमा रहेका छत्रलाई घरबाटै गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी जनकबहादुर शाहीले बताउनु भयो
उहाँले भन्नु भयो–‘रावतलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेका छौँ । दोषी ठहरिए कानुन अनुसार कारवाही हुन्छ ।’
अछाम जिल्लामा सन् २००७ यता १४ जना महिला र किशोरीको छाउपडी गोठमै बसेका कारण मृत्यु भइसकेको भए पनि गिरफ्तारीमा पर्ने छत्र रावत पहिलो व्यक्ति हुनुहुन्छ ।
मुलुकी अपराध संहिताको दफा १६८ मा छाउपडी बस्ने वा बस्न बाध्य पार्नेलाई ३ हजार रुपियाँ जरिबाना वा तीन महिना कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । राष्ट्रसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ ।
