मेल्लेख गाउँपालिका-५ विन्दवासिनीमा मतदान सकिने बित्तिकै अनेरास्ववियुका नेता २५ वर्षीय गम्भीरसिंह साउदलाई नेपाली कांग्रेसका कार्यकर्ताले गरेको आक्रमणबाट घाइते भएको पीडित पक्षको आरोप छ ।
मतदान सकेर जनता माध्यामिक मतदान केन्द्र नजिकै रहेको पसलमा बसेको बेलामा कांग्रेसका कार्यकर्ताको भीडले टाउकोमा हतियारसहित प्रहारपछि साउद गम्भीर घाइते भएका उक्त गाउँपालिका-६ का अध्यक्ष नरपति रावलले जानकारी दिनुभएको छ । बेहोस अवस्थामा रहेका साउदलाई उपचारका लागि जिल्लाको वयलपाटा अस्पतालमा ल्याइएको छ ।
वडाको मतगणनामा राजनीतिक दलको बैठक बस्ने तयारी भइरहेकै बेला आक्रमण पश्चात सुरक्षा नभएको भन्दै मेल्लेख प्रहरी चौकीमा समेत भीडले आक्रमण गरेको छ ।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । मेल्लेखमा रहेका पत्रकार महासंघ अछामका कार्यवाहक अध्यक्ष खम्म खत्रीका अनुसार दुवै पक्षबाट असुरक्षित हुनेभएपछि आफूहरू घरभित्र ढोका बन्द गरेर बसेको जानकारी दिनुभयो । यो घटनाका कारण मतगणनामा अवरोध भएको छ । घटनाका आरोपित पक्षका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले थप जानकारी दिएको छैन ।