INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय जान दैनिक पाँच घण्टा पैदल

तिला गाउँपालिकामा पर्ने घोडेमहादेव र मालिकाठाटाका बालबालिकालाई विद्यालय जान दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सडक सञ्जालमा नजोडिएका घोडेमहादेव र मालिकाठाटा साविकका दुई गाविस हुन् ।

सङ्घीय संरचनाअनुसार ति दुई गाविसलाई चार ओटा वडामा विभाजन गरिएको छ । स्थानीय तहको निर्वाचनपछि तिला गाउँपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका कतिपय गाउँ बस्तीसम्म सडकको ट्रयाक खनिएको भएपनि रारालिहीमा रहेको तिला नदीमा पुल नबन्दा सवारीसाधनहरू सञ्चालनमा आउन सकेका छैनन् ।

गाउँमा आठकक्षा सम्ममात्रै पढाइ हुने भएपछि भौगोलिक विकटताका कारण चारओटा वडाका बालबालिकाहरूले माध्यमिक विद्यालयमा पढ्न जानलाई दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।

गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा कक्षा नौदेखि माथि अध्ययन गर्ने बालबालिका अध्ययनका लागि पाँच घण्टा टाढा रहेको घोडेगाउँस्थित जनजागृति माध्यमिक विद्यालय जान बाध्य छन् ।

‘तिला गाउँपालिकाको वडा नम्बर ६ र ७ मा एउटा मात्रै माध्यमिक विद्यालय छ ।’–देवलक्ष्मी आधारभूत विद्यालय सुडीगाउँका प्रधानाध्यापक झुपे रावतले भन्नुभयो–‘घोडेसिम, पोख्री, रिपी, सुडी र घोडेगाउँ गरी पाँच गाउँका बालबालिका माध्यमिक तहको पढाइका लागि जनजागृति माध्यामिक विद्यालय जाने गरेका छन् । घोडेसिम र सुडी गाउँका बालबालिकालाई विद्यालय जान आउन पाँच घण्टा समय लाग्छ ।’

वर्षमा ३० प्रतिशत मात्रै हाजिर
घरबाट विद्यालय निकै टाढा भएकाले बालबालिका नियमित विद्यालय जान सक्दैनन् । यहाँका विद्यार्थीको हाजिर वर्षमा ३० प्रतिशत मात्र हुने गरेको प्रधानाध्यापक रावतले बताउनुभयो ।

सुडीगाउँबाट लेक काटेर जङ्गलको बाटो हुँदै घोडेगाउँ पुग्नुपर्छ । असार, साउन, भदौ जस्ता वर्षातको बेला अधिकांश बालबालिका विद्यालय जाँदैनन् ।

जाडोका पुस, माघ, फागुन जस्ता महिनामा पनि विद्यालय जान समस्या हुने गरेको कक्षा १० की विद्यार्थी सिर्जना रावतले बताउनुभयो ।

‘जङ्गलको बाटो लेक काटेर जाँदा जङ्गली जनावर र गलत नियत भएका मान्छेको डर हुन्छ ।’–रावतले भन्नुभयो–‘हामीलाई कक्षा आठदेखि माथि अध्ययन गर्न निकै गाह्रो छ ।’

विद्यालय छाड्ने बालबालिका धेरै
विद्यालय टाढा भएकै कारण घोडेसिम, रिपी र सुडीगाउँका आधाजसो बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन् ।

पढ्नको लागि निकै टाढाको विद्यालय जानुपर्दा विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका हुन् । स्थानीयका अनुसार गाउँमा कक्षा ८ पास गरेका झण्डै आधा बालबालिका माथिल्लो तहमा भर्ना हुँदैनन् ।

सुडीस्थित देवलक्ष्मी आधारभूत विद्यालयबाट बर्सेनी करिब २५ जना बालबालिकाले कक्षा आठ उत्तीर्ण गर्छन् ।

तर, कक्षा १० को एसइई परीक्षा दिने विद्यार्थीको सङ्ख्या भने वार्षिक आठदेखि १० जना मात्र हुने गरेको प्रधानाध्यापक रावतले बताउनुभयो ।

गाउँमै माध्यमिक विद्यालय सञ्चालन गर्न माग
स्थानीयले रिपी, सुडी र ढिपु गाउँका लागि तिला गाउँपालिका–९ मानेचौरमा माध्यमिक विद्यालय सञ्चालन गर्न माग गर्दै आएका छन् ।

यस विषयमा स्थानीयले गाउँपालिकालाई पटकपटक दबाबसमेत दिएको प्रधानाध्यापक रावतको भनाइ छ । तर, अहिलेसम्म गाउँपालिकाले भने गाउँमै विद्यालय सञ्चालन गर्ने विषयमा आवश्यक तयारी नगरेको अभिभावकहरूको आरोप रहेको छ ।

तिला गाउँपालिका शिक्षा शाखा संयोजक दिपेन्द्र हमालले रिपी, सुडी र ढिपु गाउँका लागि मानेचौरमा माध्यमिक स्तरको विद्यालय सञ्चालन गर्ने गाउँ कार्यपालिकामा छलफल भइरहेको जानकारी दिनुभयो ।

सो ठाउँमा दुई कोठे भवन तयार हुँदै गरेको जानकारी दिँदै हमालले आवश्यक भौतिक संरचना निर्माण गरी विद्यालय सञ्चालन गरिने बताउनुभयो ।

अन्य

भिडियो