INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षिकाको कुटपिटबाट तीन जना विद्यार्थी घाइते

धरान उपमहानगरपालिका–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयको कक्षा चारमा अध्ययनरत १० वर्षीया प्रतिक्षा बिक, नौ वर्षीय आर्यन बिक र १० वर्षीया शीखा बिकलाई कक्षा कोठामा पेन्सिल तिखारेको भन्दै सोही विद्यालयकी शिक्षिका २७ वर्षीया दीपा श्रेष्ठले मङ्सिर ३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

बालबालिकालाई शिक्षिकाले कुटपिट गरी घाइते बनाएको अभिभावक कुमारी बिकले आरोप लगाउनुभएको छ ।

कुटपिटबाट घाइते भएका बालबालिकाको उपचार सोही दिन स्थानीय क्लिनिकमा गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

आरोपित शिक्षिका श्रेष्ठले बालबालिकालाई घाइते हुने गरी कुटपिट नगरेको बताउनुभएको छ । विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठले शिक्षिकाबाट गल्ती भएको र आगामी दिनमा गल्ती नगर्ने शर्तमा उपचार खर्च आरोपितले व्योर्होने गरी मिलापत्र भएको बताउनुभयो ।

बालबालिकाका अभिभावक राजकुमार बिकले शिक्षिकाको कुटपिटबाट बालबालिकाको टाउको, औँलाबाट रगत बग्ने गरी चोट लागेको बताउनुभयो ।

डिएसपी न्यौपानेले पीडित पक्षबाट प्रहरीमा कुनै प्रकारको निवेदन वा उजुरी नआएको बताउनुभएको छ ।

अन्य

भिडियो