INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरणका लागि एकताबद्ध हुनुपर्नेमा जोड

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्नका लागि राज्यका सबै मानव अधिकारका रक्षक एकताबद्ध हुनुपर्नेमा सरोकावालाले जोड दिएका छन् ।

मानव अधिकार आयोग प्रदेश ३ कार्यालयले असोज १५ गते आयोजना गरेको ‘मानव अधिकार कार्यान्वयनको अवस्था र चुनौती’ विषयको अन्तरक्रियामा पछिल्लो समयमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको हुँदा न्यूनीकरणका लागि एकताबद्ध हुनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

मानव अधिकारकर्मी चरण प्रसार्इंले कुनै पनि खालको दबाब र प्रभावमा नपरी कानुनको शासन मुलुकमा कायम गराउन सके मात्र मानव अधिकारको प्रत्याभूति नागरिकमा गराउन सकिने बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्तकुमार लामाले नागरिकको सुरक्षाका लागि प्रहरी प्रशासन निरन्तर खटिरहेको र जुनसुकै समयमा पनि नागरिकलाई सुरक्षा दिन तयार रहने प्रतिबद्धता जनाए ।

आयोगका प्रदेश ३ का निर्देशक यज्ञराज अधिकारीले मानव अधिकारको संरक्षणका लागि नेपाल प्रहरी, सम्पूर्ण मानव अधिकारकर्मीले सहकार्य गरेर अधिकार संरक्षणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले समाजमा अपराध बढेपनि नियन्त्रणमा लिन प्रहरीले तदारूकता नदेखाएमा समस्या थपिने बताए । उनले दण्डहीनताका कारण मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको बताए ।

अन्य

भिडियो