दोगडाकेदार गाउँपालिका–२ ढिकगाड घर भई हाल दशरथचन्द नगरपालिका–४ बमरोडामा आमाबुबासँगै बस्दै आएकी आठ वर्षीया बालिका कलावती सार्की असार १७ गतेदेखि विद्यालयबाटै ‘बेपत्ता’ भएकी छिन् ।
मजदुरी गर्न बमरोडामा बस्दै आएका खडक सार्कीकी आठ वर्षीया छोरी कलावती आसर १७ गते बिहानदेखि हराएकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक पातलीले बताए ।
कक्षा १ मा अध्ययनरत बालिका कलावतीलाई आफूले नै विद्यालय पुर्याउन गएको र विद्यालय नखुलेका कारण स्कुलको गेटमै छोडेर आएको बालिकाका बुबा खडक सार्कीले बताए । बालिका दशरथचन्द नगरपालिका–४ को ईश्वर आधारभूत विद्यालयमा अध्यनरत छात्रा हुन् ।
७० वर्षीय सार्कीले मजदुरी गरेर छोरी र आफ्नो गुजार गर्दै आएका थिए । साँझसम्म पनि छोरी नफर्केपछि उनले असार १७ गते बेलुका प्रहरीलाई खबर गरेका थिए ।
पीडित पक्षले दिएको जानकारी लगत्तै प्रहरीले १७ गते रातिबाटै बालिकाको खोजी कार्य जारी राखेको भएपनि हालसम्म स्थिति पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पातलीले बताए ।
बालिका हराएको नजिकै जङ्गल भएकाले बालिका कहाँ गइन् भन्ने कुरा पत्ता लगाउन निकै कठिनाई भएको प्रहरीको भनाई छ । बालिकाको खोजीकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा परिचालन गरिएको छ ।