अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुली सहितको टोलीले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था बारेमा सरोकारवालाहरूसँग असार १७ गते छलफल गरेको छ ।
टोलीले कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश सभाका सत्ता पक्षका प्रमुख सचेतक गुलाबजङ्ग शाह, वीरेन्द्रनगर नपाका प्रमुख देवकुमार सुवेदी, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलसँग र डिआईजी पुर्णचन्द्र जोशीसँग भेटघाट गरी प्रदेशको मानव अधिकारको अवस्था बारेमा छलफल गरेको हो ।
छलफलमा सभामुख शाहीले मानव विकास सूचकाङ्कमा सबै भन्दा पछाडि परेको कर्णाली प्रदेशका जनताको जीवनस्तर उकास्ने खालको कानुन निमार्णमा प्रदेश सभा लागि परेको बताए ।
सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशका जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
वीरेन्द्रनगर नपाका प्रमुख देवकुमार सुवेदीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा इन्सेकसँग समन्वय गरेर अघि बढने बताए ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले तीनै तहका सरकारले गरेका उदाहरणीय कार्य उजागर गर्न तथा कार्य प्रक्रियाको क्रममा भए गरेका गल्ती कमजोरी उल्लेख गर्न इन्सेकलाई सुझाव दिए ।
डिआइजी पुर्णचन्द्र जोशीले मानव अधिकारको संरक्षण सम्बर्द्धन र परिपुर्तिका लागि इन्सेकसँग समन्वय गरी नेपाल प्रहरी प्रतिबद्ध भई लाग्ने बताए ।
टोलीमा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदी तथा जिल्ला प्रतिनिधि दुर्गा थापा लगायतको सहभागिता रहेको थियो ।