राष्ट्रिय सभा सदस्यका लागि माघ २४ गते भएको निर्वाचन शान्तिपूर्ण रहेपपनि प्रदेश नम्बर ३ मा एक सुत्केरी महिलाले मतदानका क्रममा असहजता व्यहोर्नुपरेको इन्सेकले जनाएको छ ।

संसद छँदै पारित गर्नुपर्ने राष्ट्रिय सभा निर्वाचनसम्बन्धी कानुन अध्यादेशका रूपमा सरकारले अघि सारेपछि विवादित बन्दा केही समय कानुन पारित हुनै समय लागेको थियो । संसदमा छलफल गर्दा बहुमतीय आधारमा निर्वाचन गर्ने सहमतिबेगर अध्यादेशमा एकल सङ्क्रमणीय मतका आधारमागर्ने भनी कानुन आएपछि मुख्य दलहरूकाबिचमा विवाद भएको थियो । अन्तत्वगत्वा कूल ५९ सदस्यीय राष्ट्रिय सभामा ४२ जना एकल सङ्क्रमणीय मतका आधारमा, १४ जना बहुमतीय आधारमा र तीन जना मन्त्रिपरिषद्ले मनोनित गरी राष्ट्रपतिलाई सिफारिस गर्ने गरी कानुन आयो । सोही कानुनका आधारमा २०७४ माघ २४ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन सम्पन्न भयो । ६ ओटै प्रदेशमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको इन्सेकका पर्यवेक्षकले जनाएका छन् । यो निर्वाचनमा इन्सेकका १२ जना पर्यवेक्षकले पर्यवेक्षण गरेका थिए ।
राष्ट्रियसभा सदस्य निर्वाचन ६ ओटै प्रदेशमा सम्पन्न भएको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा निर्वाचन भएको हो । प्रदेश २ मा भने आठै जना सदस्यहरू निर्विरोध निर्वाचित भएकाले निर्वाचन गर्नु परेन । ६ वटै प्रदेशमा निर्धारित समय बिहान १० बजेदेखि मतदान सुरू भएको थियो । यो निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको मतभार १८ हुने कानुनी व्यवस्था रहेको छ । प्रत्येक प्रदेशबाट आठ/आठ जना निर्वाचित गर्नुपर्नेमा २४ जना यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश नम्बर १
राष्ट्रिय सभाका आठ जना सांसदका लागि ९३ प्रदेश सभा र १ सय ३७ स्थानीय तहका २ सय ७४ समेत गरी ३ सय ६७ जना जनप्रतिनिधिहरूमध्ये प्रदेश सभा सांसदको एक मत र स्थानीय तहका प्रतिनिधिको दुई मत खसेन । ताप्लेजुङको फेदाप गाँउपालिकाकी उपाध्यक्ष गीतादेवी थापा आशौच बारेकै अवस्थामा निर्वाचनमा सहभागी भएकी थिइन् । माघ २१ गते उनको बावुको मृत्यु भएपछि शोकमा रहेको र आशौच बारेको उनले बताइन् ।

प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ मा प्रदेश सभाका १ सय १० र स्थानीय तहका २ सय ३८ प्रतिनिधिले दिउँसो २: १५ बजे मतदान सम्पन्न गरे । यहाँ सशप्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ कायश्थ चार दिनकी सुत्केरी थिइन् । उनी मतदान गर्न आउँदा प्रवेशस्थलबाट भित्रसम्म जान आउन सहज भएन । उनलाई गाडीको सुविधा थिएन । हिँडेरै मतदान गर्न आउजाउ गर्दा समस्या भएको उनले बताइन् । तर, आफूहरूलाई यसबारे जानकारी नभएको मुख्य निर्वाचन अधिकृत दवाडीले प्रतिक्रिया दिए । उनी मतदान गर्न जाँदा थाहा नभए पनि मतदान गरिसकेपछि र्फकने वातावरण सहज बनाउन सकिन्थ्यो । इन्सेकको पर्यवेक्षणमा सो पाइएन ।

प्रदेश नम्बर ४
प्रदेश ४ मा पोखरास्थित लोकसेवा आयोग कार्यालय परिसरमा मतदान भएको छ । प्रदेश ४ मा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष गरी १ सय ७० जना तथा प्रदेशसभा सदस्य ६० जना मतदाता गरी कुल २ सय ३० जना मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए । यहाँ प्रदेश सभाका सदस्य राजिव गुरूङबाहेक सबैले मतदान गरेको सुवेदीले बताए ।

प्रदेश नम्बर ५
यो प्रदेशमा कूल ३ सय ५ मतदाताहरूमध्ये ३ सय ३ जनाले मतदान गरे । यहाँ ८७ जना प्रदेश सांसद र नगरपालिका र गाउँपालिकाका २ सय १८ जना प्रमुख र उपप्रमुख मतदाता रहेका थिए । रुपन्देहीकी बिना पन्त र बाँकेका अहमद साह अनुपस्थित रहे । उनीहरू बाहेक अन्यले मतदान गरेका थिए ।

प्रदेश नम्बर ६
प्रदेश ६ को चुनाव अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको छ । प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि १ सय ९८ जनाले मतदान गरेका हुन् । प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना मतदाताले मतदान गरेका हुन् । यहाँ शतप्रतिशत मतदान भएको छ ।

प्रदेश नम्बर ७
प्रदेश नम्बर ७ को निर्वाचन केन्द्र डोटीको सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा सम्पन्न भयो । प्रदेश ७ मा २ सय २९ जना मतदाता रहेकामा दुई मत खसेन । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा निर्वाचित दुई सांसद मतदानमा अनुपस्थित रहे । अनुपस्थित हुनेमा मालमति थारु र कृष्णकुमार चौधरी रहेको निर्वाचन कार्यालयले जनायो । यहाँ प्रदेश सभाका ५३ सदस्य रहेका छन् ।
फोटो: विमलचन्द्र शर्मा, पुण्यप्रसाद अधिकारी, सुमित्रा भट्टराई, सङ्गीता भाट, जेएन सागर र दुर्गा थापा ।