सप्तरी घटनामा मृत्यु भएका सञ्जन मेहताका दाजु मलेठ गाविस-२ का २८ वर्षीय रन्जन मेहताले फागुन २६ गते मलेठ गाविस-२ स्थित नहर चोकमा राष्ट्रिय मानव अधिकार आयोगको बा.७ च ७४७९ नम्बरको गाडी तोडफोड गरेका छन् ।

सप्तरीमा फागुन २३ गते भएको घटनामा मृत्यु भएका मलेठ गाविसका तीन जनाको परिवारलाई भेटेर फर्कने क्रममा आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारी चढेको गाडी उनले तोडफोड गरेका हुन् ।

तोडफोडबाट गाडीको सिसा फुटेका छन् । घटनास्थलबाट पीडित परिवारलाई भेटेर फर्किरहेको बेला आयोगको गाडीमा ढुङ्गा प्रहार गरी तोडफोड गर्नुका साथै पेट्रोल खन्याएर आगजनीको प्रयाससमेत गरिएको आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख झङ्कर रावलले जानकारी दिए ।
यसअघि पनि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले फागुन २४ गते राजविराज नपा-१ स्थित जिल्ला अदालत अगाडि राष्ट्रिय मानव अधिकार आयोगको बा.७ च ७४७३ नम्बरको गाडी तोडफोड गरेका थिए ।

यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले राजविराज नपा-४ स्थित भूमिसुधार कार्यालयमा आगजनीको प्रयास गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरूले बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा एक दर्जन गाडीमाथि ढुङ्गामुढा प्रहार गरी गाडीका झयाल र ढोकामा क्षति पुर्याएका छन् ।
