मागेजति दाइजो दिन नसकेपछि विवाह भएकी छोरीलाई ज्वाइँले घर नलग्दा महोत्तरी बर्दिवास-८ फूलबारी बस्तीका ५५ वर्षीया रामप्रकाश कापरको परिवारलाई ठूलो चोट पुगेको छ ।
०७३ माघ ९ गते विवाह भएकी छोरी अमृतालाई सम्धी दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैँसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश छोरीको घरबारको चिन्ताले पिरोलिएका छन् ।
‘धनले गरिब छि, मुदा मन स˜ नई,’ (धनले गरिब छु, मनले होइन) रामप्रकाशले भने- ‘सम्धीकै १ लाख ६० हजार नगद आ १ लाख ९० हजार मूल्यके नव्का मोटरसाइकल देली’ (सम्धीलाई १ लाख ६० हजार नगद र १ लाख ९० हजारमा किनेर नयाँ मोटरसाइकल दिएँ) । रामप्रकाशले अगाडि भने- ‘मुदा, कुटुम्ब हमर दिकत नई बुझलैन’ (तर, कुटुम्बले मेरो अप्ठ्यारो बुझेनन्) ।
रामप्रकाश र धनुषाको कान्छी बजारका बेहुलाका बाबु दुखी कापरबिच बिहेमा एउटा होण्डा साइन मोटरसाइकल र नगद सहित तीन लाख ५० हजार दाइजोमा कुरा मिलेर सो रकम बिहेअघि नै पूर्ति गरिए पनि बिहेमा खानाखाने बेलामा दुलहा रौदी कापरले लैनो भैंसी नपाए नखाने बताएपछि विवाद बढ्दा अमृता घर जान नपाएको फूलबारी टोलका बासिन्दा बताउँछन् ।
‘रामप्रकाश भैया त एकसाल वाद भैँस सेहो देवाक बतौने छला, मुदा दुलहा मरवा स˜ निकैलक माइरपिटमे उतइरगेला’-रामप्रकाश दाइले त भैँसी नै पनि एक वर्षपछि दिउँला भन्नुभयो । तर, दुलहा त मरवा (विवाह यज्ञस्थल)बाट निस्केर कुटपिटमै ओर्लनुभयो) स्थानीय गणेशी महतोले भने ।
विवाह समारोहमै धक्कामुक्का चल्न थालेपछि प्रहरीलाई खबर गरिएको गणेशी महतो सहितका फूलबारी बस्तीका बासिन्दा बताउँछन् । पछि चौलीखा प्रहरी चौकीको समन्वयमा दुई दिनपछि सामाजिक छलफल गराइने गरी जन्ती बेहुली नै नलिई घर फर्केपछि रामप्रकाश इन्तु न चिन्तुका बनेका छन् ।
सहमति भएको रकमसँगै दुलहाको पोशाक ५६ हजार लगाएर दिँदा पनि कुटुम्ब बटारिएको रामप्रकाश बताउँछन् ।
‘बेटिके ब्याहके लेल जे जेना मगलक, तेहिना जमीन बेचक ढेउवा व्यवस्था कैली, आब सबकुछ् हात स˜ छुटल'(छोरीको बिहेका लागि ज-जसले जसरी मागे, त्यसरी जग्गा बेचेर पैसा जुटाएँ, अब सबै कुरा हातबाट गयो)-रामप्रकाशले लामो सुस्केरा हाल्दै दुःख पोखे ।
बेहुला पक्षकाले भने खानेबेलामा केटी पक्षले भद्दा गालीगलौज गरेर बेहुला र जन्तीलाई अभद्र व्यवहार गरेकाले स्थिति बिग्रिएको आरोप लगाएका छन् । ‘खाने बेलामा ससुराली पक्षसँग केही सामानका लागि दङ्ग्याउने त मैथिल स्थापित परम्परा नै हो नि !’-बेहुला पक्षका एक व्यक्तिले भने ।
बेहुला पक्षका सभ्रान्तजस्ता देखिने एक जनाले छलफलमा भन्दै थिए-‘दुलाहले खाने बेलामा भनेको कुरा त माग नभएर मैथिल संस्कार हास-परिहास न हो । सक्नेले दिन्छन् । नसक्नेले बेहुलालाई कुराले मनाएर खुवाउन लगाउँछन् ।’ बेहुला पक्षकाले यस्तो बताए पनि उनीहरू दुलाहकै नेतृत्वमा धक्कामुक्कामा ओर्लिएका दुलही पक्षको आरोप छ ।
यता आफ्नो बिहेमा बेहुला पक्षको रडाको नजिकबाट देखे बुझेकी अमृता भने अझै पढ्न चाहन्छिन् । एक वर्षघि नौ कक्षा उतीर्ण गरेर पढाइ रोकाएकी अमृताले नेपालीमै भनिन्-‘दुष्ट रहेछन् । जग्गेमै धक्कामुक्कामा ओर्लिए । सायद म त्यो घरमा चयनको साथ बस्न सक्ने थिइन होला । जे नहुनु थियो भयो । अब पढ्न पाए हुन्थ्यो ।’
आफ्नो उमेर नगएको र पढिलेखी ज्ञान र सिप आर्जन गर्नसके दाइजो नमागी बिहे गर्ने केटा पनि पाउनसक्ने अमृताको विश्वास छ ।
बिहे भएर पनि बेहुलाको घर नपुगेकी अमृताको पढ्ने रहर पूरा हुने नहुने केही ठेगान छैन । गरिबीले छोरीको चाँडै बिहे गर्न परेको बताउने रामप्रकाशको परिवारले बिहे गरेर घर जान नसकेपछिको घटनाले आफ्नो सामाजिक मर्यादामा आँच पुगेको ठानेका छन् ।
यसैबिच, महिला अधिकार क्षेत्रमा क्रियाशील महिला नेतृ अन्तर पार्टी महिला सञ्जाल बर्दिवास नगरकी अध्यक्ष शारदा थापाले मनमाफिक दाइजो नपाउँदा बुहारी, पत्नी छोडेर हिँड्ने बेहुलाका बाबुछोरालाई तत्काल कार्बाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।