INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या आरोपमा पति र छोरा गिरफ्तार

गत असोज २८ गते मेलौली नगरपालिका–२ प्यानी स्थित सुर्नया नदीमा मृत (सडेको) अवस्थामा भेटिएकी ४५ वर्षीया सीता भट्टको हत्या गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–३ रौतगाउँका ६० वर्षीय रामदत्त भट्ट (सीताका पति) र उनका २० वर्षीय छोरा कृष्णदत्त भट्टलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

सीताका माइती पक्षले कात्तिक ७ गते दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । घटनाका अर्का आरोपित सिताकी सौता ४० वर्षीया धौली भट्ट फरार रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

घरेलु हिंसाबाट पीडित सीता भट्ट मेलौली नगरपालिका–३ सेली स्थित माइती घरमा बस्दै आएकी थिइन् । आज उपरान्त कुटपिट र हिंसा गर्दिनँ भनी पति रामदत्तले आश्वासन दिएपछि उनी भदौ ६ गते आफ्नै घरमा गएकी थिइन् । भदौ १२ गते छिमेकीलाई घाँस दिएको भन्दै पति रामदत्त, सौता धौली र छोरा कृष्णले कुटपिट गरेपछि भदौ १३ गतेदेखि सिता ‘बेपत्ता’ भएकी थिइन् ।

झण्डै डेढ महिनापछि असोज २८ गते सुर्नया नदीमा एउटा लास भेटियो । उक्त लाश सडेको अवस्थामा भएकाले राम्ररी चिनिन सक्ने अवस्थामासमेत थिएन ।

सीता हराएको भन्दै पति रामदत्तले दिएको निवेदनका आधारमा परिवारलार्ई बोलाएर प्रहरीले शवको पहिचान गर्ने प्रयास गर्‍यो । तर, परिवारले शव सीताको होइन भनेपछि उक्त शवलाई स्थानीय र प्रहरीले गाडेको इलाका प्रहरी कार्यालय पाटनका इन्स्पेक्टर राजेन्द्रबहादुर सिंहले बताए ।

प्रहरीले शवलाई जमीनमा गाडी शवसँग भएको ‘म्याक्सी र माला’ इलाका प्रहरी कार्यालय पाटनमा ल्याएको थियो । पछि उक्त म्याक्सी र माला सीताका माइती पक्षले सीता घर जानेबेलामा दिएको र उक्त शव सीताको भएको बतायो । आफूहरूले पनि सीता हराएको भनी प्रहरी चौकी सलेनामा निवेदन दिएको भएपनि शव भेटिने बेलामा प्रहरीले खबर नगरेको सीताका माइती पक्षको भनाई छ ।

विगतमा सीताले भोग्नुपरेको घरेलु हिंसा, एकाएक सीता बेपत्ता हुनु, घरका व्यक्तिहरूले शव सीताको होइन भन्दै अस्वीकार गर्नु र उक्त शवसँग भएको म्याक्सी र माला माइतीले सीतालाई दिएको पुष्टी भएपछि माइती पक्षले हत्या आरोपमा पति, छोरा र सौताका विरूद्धमा उजुरी दिएको थियो ।

नदीमा भेटिएको शवको नमुनाका लागि हड्डी ल्याइएको र अब माइती पक्षको रगत लिएर शवको पहिचान गरिने प्रहरीले जनाएको छ । आरोपितहरूलाई हिरासातमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर सिंहले बताए ।

अन्य

भिडियो