अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले संस्थाको निर्णय प्रक्रिया सङ्घीयता अनुसार लैजानु पर्नेमा जोड दिएका छन् ।
इन्सेक केन्द्रीय कार्यालयद्वारा कात्तिक १४ गते ललितपुरको गोदावरीमा आयोजित मानव अधिकारमैत्री उत्तरदायित्व प्रवर्धन परियोजनाको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष प्याकुरेलले उक्त विषयमा जोड दिएका हुन् ।
अध्यक्ष प्याकुरेलले सत्य स्थापित गर्न तथ्यको आधारमा टेकेर तितो कुरा बाहिर ल्याउन सक्नु पर्ने बताए ।
आगामी दिनमा परियोजनामूखी मात्र नभई संस्थागत विकासका लागि प्रस्तावना तयार गर्नु पर्ने अध्यक्ष प्याकुरेलले सुझाव दिए । उनले संस्थागत विकासका लागि व्यवस्थापनको कामलाई डिजिटिलाइज्ड गरिनु पर्ने बताए ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकको तीन वर्षे कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको बताए । उनले आगामी दिनमा कार्यक्रमबाट आएका उपलब्धिलाई अभिलेखीकरण गर्न आवश्यक रहेको बताए । त्यसका लागि कार्यक्रम सम्पन्न गर्दा प्राप्त भएका उल्लेखनीय सफलताका कथालाई समेटर पुस्तक प्रकाशन गर्ने जानकारी दिए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका परियोजना प्रमुख, विभागीय प्रमुख, व्यवस्थापन प्रमुखलगायत सातै प्रदेश कार्यालयबाट प्रदेश संयोजक र प्रलेख अधिकृतको सहभागिता रहेको थियो ।
प्रदेश स्तरीय प्रस्तुतीमा मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखन, पीडितलाई राहत कार्यक्रमले पुर्याएको सहयोग, भुकम्प पीडितको आवसका लागि गरिएको पहल, पीडितको पक्षमा अदालतबाट भएका फैसला र कानुनी प्रक्रियामा पुर्याएको सहयोगका विषय समावेश भएका थिए ।





