सल्यानका महिला मजदुरले ज्यालामा लैंङ्गिक विभेद हुने गरेको गुनासो गरेका छन् । आफूहरूले पुरुष सरह काम गरेपनि ज्यालामा भने एकरुपता नभएको महिला मजदुरहरूको गुनासो रहेको छ ।
विकास निमार्णका काममा आफूले अन्य पुरुष मजदुरकै सरह काम गरेको बताउँदै शारदा नपा सीतलपाटीकी २८ वर्षीया विमला रोकाले ज्याला भने फरकफरक बुझेको जानकारी दिइन् ।
आफूहरूसँगै काम गरेका पुरुष मजदुरले दैनिक ७ सय रुपियाँ ज्याला पाउँदै आएकोमा आफूले सोही कामको कम ज्याला दैनिक ५ सय ५० रुपियाँ मात्रै पाएको अर्का मजदुर ३० वर्षीया सङ्गीता नेपालीले बताइन् । उनीहरूले स्थानीय सडक, भवन निर्माणलगायतका काम सँगसँगै गर्ने गरेको बताएका छन् ।
‘व्यक्तिगत काममा लगाउने स्थानीयदेखि निर्माण व्यवसायीसम्मले ज्यालामा विभेद गर्दै आएको महिला मजदुरको आरोप छ । ‘हामीले पनि त पुरुषले गर्ने काम गर्छौँ । अझ उनीहरूभन्दा बढी नै गर्छौँ ।’–सङ्गीताले भनिन्–‘तर, ज्यालामा भने धेरै तलमाथि छ ।’ समान कामको समान ज्यालाका लागि विगतदेखि नै आवाज उठाए पनि बेवास्ता हुने गरेको उनको भनाई छ ।
निर्माण व्यवसायीहरूले भने ज्यालामा कुनै विभेद नगरेको दावी गरेका छन् । निर्माण व्यवसायी सुशील विक्रम शाहले कार्यक्षमताको आधारमा ज्याला तलमाथि भएको हुन सक्ने बताए ।
‘महिला भएकैले ज्याला कम दिने गरिएको त होइन होला ।’–उनले भने–‘बरु कामको आधारमा ज्याला केही तलमाथि भएको हुन सक्छ ।’ मजदुरलाई लैङ्गिक विभेद नभई कामको आधारमा ज्याला दिने गरेको निर्माण व्यवसायी सुशील विक्रम शाहले जानकारी दिए ।