INSEC Online

📅 २०८३ जेष्ठ २१

आँधीखोला बगरको कमाइले दसैँ मनाउँदै महिला मजदुर

दसैँ मनाउने आआफ्नो योजना बन्दै छन् । रोजगारीको लागि विदेशिएका कोही दसैँ मनाउन घर आइपुगेका छन् त कोही आउने क्रममा नै छन् । स्वदेशमै रोजगारीका लागि विभिन्न ठाँउमा पुगेकाहरू पनि आफ्नो पुख्र्यौली थलो फर्कँदै छन् ।

आँधीखोला बगरमा मजदुरी गर्ने महिलाहरू भने आफ्नै कमाईले दसैँ मनाउन फूलपातीसम्म नै मजदुरीमा तल्लीन थिए ।

वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी २७ वर्षीया राधा विश्वकर्मा आफ्नै कमाईले दसैँ मनाउने योजनामा छिन् । बाँयेटारी बजारस्थित आँधीखोलाको किनारमा तीनदिन अघि बालुवा चाल्दै गरेको अवस्थामा भेटिएकी उनले आफैँले दुःखसुख गरेर कमाएको पैसाले दसैँमा छोराछोरीलाई नयाँ कपडा किनिदिने योजनाका साथै घर खर्च चलाउने बताइन् ।

राधाका पति वैदेशिक राजगारीको सिलसिलामा विदेशमा छन् । पतिको कमाई कहिले हुने कहिले भने जति नहुने र विदेशबाट पैसा पठाउने ठेगान नहुने भएकोले आफूले काम गरेर घर परिवारको खर्च चालउँदै आएको उनले बताइन् ।

राधाले भनिन्–‘वहाँले कहिले पठाउनु हुन्छ निधो हुँदैन ? दसैँ त मान्नै पर्यो नि ! गाउँघरमा दसैँको बेलामा अरूसँग माग्न भन्दा आफैँले कमाएर दसैँ मनाउनु ठिक लागेर काम गर्न आएकी हुँ । बिहान देखि साँझसम्ममा एक ट्याक्टर बालुवा जम्मा गर्छु । एक ट्याक्टर १ हजार २ सय रुपियाँमा विक्री गर्छु ।’

बोधिभञ्ज्याङकै सुमित्रा बिकले पनि पति विदेशमा भएको बताउँदै अरूसँग दुई–चार पैसा माग्नु भन्दै आफैँले दुःख गरेर कमाएर छोराछोरीको कापीकलम र घर खर्च चलाउनको लागि काममा आएको बताइन् ।

अन्य

भिडियो