सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा असोज २४ गतेदेखि औषधि अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।
फार्मेसीमा औषधि अभाव हुँदा बिरामीहरू निजी मेडिकलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य भएका छन् । फार्मेसीमा औषधि अभाव भएपछि अस्पताल परिसर बाहिर रहेका मेडिकलहरूमा भने औषधि किन्नेको भीड लाग्ने गरेको छ ।
निमोनियाले ग्रस्त छोराको उपचार गराइरहेका कञ्चनपुर पुनर्वासका महेशचन्द्र अधिकारीले सामान्य सिरिञ्ज पनि फार्मेसीमा नपाएको गुनासो गरे । उनले डाक्टरले लेखेको कुनै पनि औषधि फार्मेसीमा नपाइएको बताए ।
टाउको र पेटमा समस्या भएपछि उपचारका लागि अञ्चल अस्पताल भर्ना भएका धनगढी उमनपा–१ का नन्दराज जोशीले पनि डाक्टरले लेखेका कुनै पनि औषधि आफूले अञ्चल अस्पतालको फार्मेसीमा नपाएको गुनासो गरे ।
फार्मेसीले उपलव्ध गराउँदै आएको ४ सय ८५ औषधिमध्ये २ सय प्रकारका औषधि पनि पर्याप्त नभएको बताउँदै दैनिक लगभग २ सय ग्राहकलाई फर्काउनु परेको सेती अञ्चल अस्पतालका फार्मेसी इञ्चार्ज भरत कुँवरले बताए ।
उनले चालु आर्थिक वर्ष सुरू भएदेखि औषधि खरिद गर्ने टेण्डर प्रक्रियमा ढिलाई भएकाले औषधि खरिद हुन नसक्दा अभाव भएको बताए ।