INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारभित्र आमासँगै रहेका बालबालिका शिक्षाबाट वञ्चित

विराटनगर स्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी जीवन बिताइरहेका आमासँग बसेका बालबालिका शिक्षा लिनबाट वञ्चित छन् ।

विद्यालय जाने उमेर भएपनि नजिकै विद्यालय नहुँदा र भएका विद्यालयमा पनि जाने वातावरण नभएका कारण उनीहरू औपचारिक शिक्षा लिनबाट वञ्चित भएका हुन् ।

सरकारले बालबालिकाका लागि विद्यालय जाने उमेर भन्दा अगाडि बाल स्याहार केन्द्र, बालविकास केन्द्र स्थापना गरेको भएपनि यी बालबालिकाहरूले यी सुविधा उपभोग गर्न नपाएका हुन् ।

अहिले जिल्ला कारगारमा आमासँगै बस्दै आएका आठ जना बालबालिकामध्ये एक जना पाँच वर्ष, एक जना चार वर्ष र एक जना दुई वर्षका र अन्य डेढ वर्ष भन्दा मुनिका रहेका छन् ।

आमासँगै बस्दै आएका पाँच वर्षीय राजविर मण्डल अहिलेसम्म विद्यालय गएका छैनन् । आमासँगै बसेर दिउँसो बालविकास केन्द्र वा विद्यालय जाने आउने व्यवस्था भए सजिलो हुने राजविरकी आमा कविताले बताइन् ।

बाहिर  टाढा पठाउन छोराको उमेर सानै भएको र आफ्नो पनि मुद्दाको फैसला होला भन्ने आशामा बस्दाबस्दै छोराको पढ्ने उमेर जान लागेको कविताले बताइन् ।

आफूसँगै राखेर पढाउन नपाउने भएपछि चार वर्षीय कृष्ण राईलाई विराटनगरकै एक संस्थामा राख्न आग्रह गरेको आमा कविता राईले बताइन् ।

सङ्खुवासभामा कारागार भित्रै जन्मिएका कृष्ण बालविकास केन्द्र जाने उमेर हुँदा पनि गएका छैनन् । अभिभावकसँगै कारागार भित्रै बस्दै आएका बालबालिकाका लागि प्रदेश १ मा कुनै विद्यालय नरहेको तर अभिभावकले चाहे विरगञ्ज लान सकिने जिल्ला कारागार मोरङका जेलर भिमराज पोखरेलले बताए ।

अभिभावकले टाढा पठाउन नचाहे विराटनगरमै रहेका संस्थाको पहलमा पनि पढाउने गरिएको जेलर पोखरेलले बताए ।

पोखरेलले चार वर्षीय कृष्ण राईलाई औपचारिक शिक्षाका लागि संस्थागत पहल गरेर पठाउने तयारी भएको जानकारी दिए ।

कारगार भित्रैबाट विद्यालय लाने र ल्याउने विषयमा सुरक्षा चुनौति हुने उनको भनाई छ । जेलर पोखरेलले अभिभावकले यसका लागि माग समेत नगरेका बताए ।

अन्य

भिडियो