INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडित बालिका विद्यालय र समाजबाट विस्थापित

बलात्कार पीडित १७ वर्षीया बालिका विद्यालय र समाजबाटै विस्थापित बनेकी छन् । कक्षा दशमा अध्ययनरत पीडित बालिका विस्थापित भएपछि अझ पीडामा परेकी हुन् ।

०७५ वैशाख २८ गते बलात्कृत भएपछि उनलाई विद्यालय र समाजबाटै विस्थापित गराइएको हो । पीडित बालिकालाई कटारी नगरपालिका–४ सिम्ले पानीट्याङ्कीका ३५ वर्षीय दीपेन्द्र कोइरालाले बलात्कार गरेको पीडित परिवारले दिएको निवेदनमा उल्लेख गरेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।

घटनापछि पीडित परिवारले जेठ १५ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए । उनको स्वास्थ्य परीक्षण जेठ १५ गते कटारी अस्पतालमा गरिएको थियो ।

निवेदनपछि असार १३ गते गिरफ्तारीमा परेका आरोपित असार १४ गते जिल्ला प्रहरी कार्यालय परिसरबाटै फरार भएका थिए ।

डिएसपी श्रेष्ठले भने–‘घटनाको जानकारी निवेदनमार्फत निकै ढिलो आयो । त्यसपछि खोजी कार्य जारी छ ।’

बलात्कारबाट विक्षिप्त बनेकी बालिका बाहिर निस्कने अवस्था नरहेपछि विस्थापित हुनु परेको परिवारको भनाई छ । घरबाट बाहिर निस्कँदा र विद्यालय जाँदासमेत ‘फलानोले कुकर्म गरेको’ भन्दै होच्याउन थालेपछि छोरीको भावनाअनुसार ठाउँ छोडन बाध्य भएको पीडित परिवारको भनाई छ ।

एसइई परीक्षाको तयारीमा रहेकी बालिका साढे चार महिनादेखि विद्यालय नआएको विद्यालयका प्रधानाध्यापकले बताए । पीडित भएपछि बालिका जेठमा ७ दिन विद्यालय गएकी थिइन् । विद्यालय जाँदा सबैको चासोको विषय र हेलाहोचो गर्न थालेपछि उनी विद्यालय छाड्न बाध्य भएको परिवारको भनाई छ ।

एक सता विद्यालय गएपछि त्यसपछिका दिनहरूमा कुनै हाजिरी नरहेको प्रअले बताए । एसइई परीक्षा फर्म भर्ने समय आएपनि उनी विद्यालयमा उपस्थित नभएको प्रधानाध्यापकले बताए । विद्यालयको अभिलेख अनुसार पीडित बालिका जेठ महिनाको ६ गतेदेखि ९ गते, बीचमा २३ गते र जेठको अन्तिम ३० र ३१ गतेमात्रै उपस्थित रहेकी छिन् ।

पीडित बालिका प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षामासमेत अनुपस्थित भएको प्रधानाध्यापकले बताए । प्रअका अनुसार उनी विद्यालयमा इमान्दार र मेहनती विद्यार्थी हुन् ।

सिसी क्यामरा र बलियो सुरक्षा घेराभित्रबाट आरोपित कोइराला फरार हुनुमा रहस्य लुकेको पीडितका बुवाले बताए ।

पीडितका आफन्तले आरोपितलाई प्रहरी कार्यालयबाट उनकै भाइ राम कोइरालाले प्रहरीकै सामुन्ने मोटरसाइकलमा चढाएर भगाएको आरोप रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी ध्रुवकुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा असार २१ गते नै मुद्दा दर्ता भई आवश्यक प्रक्रिया अगाडि बढाएको बताए ।

अन्य

भिडियो