INSEC Online

📅 २०८३ जेष्ठ २१

सात बुँदे माग राख्दै कैदीबन्दीद्वारा आमरण अनशन सुरू

जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै असोज २२ गतेदेखि आमरण अनशन सुरू गरेका छन् ।

डाका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका देविसिंह ऐरले सात बुँदे माग राख्दै आमरण अनशन सुरू गरेका हुन् ।

असल चालचलन भएका सुधार उन्मूख अवस्थामा रहेका कैदीबन्दीहरूलाई ६० प्रतिशत माफी मिनाहाको पुरानै व्यवस्थालाई यथावत कायम राखी तुरुन्त लागु गरिनु पर्ने, न्याय दिने अदालत र प्रहरी सङ्गठनहरूमा मौलाउँदै आएको चरम लापरबाही तथा भ्रष्टाचार, फितलो अनुसन्धान, फैलसामा हुने ढिलासुस्ती, निर्दोषहरू फसाउने क्रियाकलापमा नियन्त्रण एवम् न्यूनीकरणका लागि ठोस् कदम चाल्नुपर्ने, कैदीबन्दीहरूको भरणपोषण भत्ता ६० रुपियाँबाट बृद्धि गरी प्रति दिन १ सय रुपियाँ  बनाउनु पर्ने, अनुत्पादक अवस्थामा समय खेर फाल्दै आएका कैदीबन्दीहरूका लागि कारागार भित्रै श्रम गर्न पाउने गरी रोजगारमूलक तथा उत्पादनमूलक कारखाना स्थापना गर्नुका साथै खुला कारागार नीतिलाई तुरून्त कार्यान्वयन गरिनु पर्ने र राजबन्दीहरूलाई प्रक्रिया मिलाई तुरून्त आममाफी अन्तर्गत कैद मुक्त गरिनुपर्ने माग राखी आफूहरूले अनशन सुरू गरेको चन्द्रसिंह साउदे बताए ।

आफूहरूले राखेका मागहरू प्रति सरकार सकारात्मक नभएको अवस्थामा आफूहरूले सुरू गरेको आमरण अनशन फिर्ता नलिने अनशनमा बसेका कैदी देविसिंह ऐरले बताए ।

हालसम्म कर्तव्य ज्यानलगायतका केही सीमित मुद्दाका कैदीबन्दीहरूलाई मात्र माफी मिनाहा दिने विभेदपुर्ण व्यवस्था रहेकाले तत्काल सबै प्रकृतिका मुद्दा वा कैदीबन्दीहरूलाई समेत माफी मिनाहाको सुविधा कायम गरिनु पर्ने माग समेत रहेको कैदी दिपक बोहराले बताए ।

कैदीबन्दीहरूका मागका बारेमा आफूले सम्बन्धित निकायलाई जानकारी गराएको र चाँडै आमरण अनशन फिर्ता हुने जिल्ला कारागार डडेल्धुराका जेलर शिवराज भट्टले बताए ।

२५ जनाको क्षमता रहेको कारागारमा हाल ५१ जना पुरूष, तीन जना महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका छन् ।

अन्य

भिडियो