INSEC Online

📅 २०८३ जेष्ठ २१

भवन निर्माण कार्य सम्पन्न नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन अलपत्र भए पछि सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरूलाई बस्न समस्यामा परेको छ ।

प्यूठान नगरपालिका-१ खैरास्थित भुवनेश्वरी मावि परिसरमा निर्माण थालिएको भवन दुई वर्षदेखि अलपत्र परेको छ । सम्बन्धित निकायको बेवास्ताले गर्दा भवन निर्माणले पूर्णता पाउन सकेको छैन भने निर्माण गरिएको संरचना घाँसले ढाकेको र जीर्ण हुँदै गएको छ ।

तीन वर्षअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाको सहयोगमा सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि आवासीय भवन निर्माण थालिएको थियो ।

निर्माणधीन कक्षाकोठा र आवासीय भवन अलपत्र परेकाले लक्षित वर्गलाई समस्या भएको प्रधानाध्यापक मुक्तिप्रसाद पोख्रेलले बताए ।

कक्षाकोठा अभावले प्रभावकारी पठन पाठन र आवासका लागि समस्या भइरहेको सुस्त श्रवण स्रोत शिक्षक धनेश्वर पोख्रेलले गुनासो गरे । एकदेखि तीन कक्षासम्मका विद्यार्थीहरू एउटै कोठामा राखेर पढाउने गरेको उनले बताए । उनले कक्षा कोठा अभावले छात्र र छात्राहरूलाई एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको बताए ।

शान्ति तथा पूनःनिर्माण मन्त्रालय अन्तर्गत निर्माणधीन भवनहरूलाई सम्बन्धित स्थानीय तहले पूर्णता दिनुपर्ने प्रावधान रहेको जिल्ला सम्न्वय समितिका प्रमुख केशवराज आचार्यले बताए । अलपत्र भवन निर्माणलाई पूर्णता दिने विषयमा प्यूठान नगरपालिकाले पहल थाल्ने नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जनाए ।

उक्त विद्यालयमा प्यूठान, गुल्मी, अर्घाखाँची जिल्लाका नौ जना छात्रा र २३ जना छात्र गरी ३२ जना सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

अन्य

भिडियो