राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बुँदे निर्देशनपत्र पठाएको आयोगले जनाएको छ ।
आयोगले असोज २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाही गर्न र पीडितलाई न्याय दिन आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आठ बुँदे निर्देशनपत्र पठाएको उल्लेख छ ।
घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीसमेतले अनुगमन/अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदन उपर आयोगमा छलफल हुँदा उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कानूनबमोजिम यथाशीघ्र कारवाही गर्न आयोगले सरकारलाई सो पत्राचार गरेको जनाएको छ ।
पत्रमा बलात्कार एवम् हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिइ कार्य गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम् वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयता लगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।