INSEC Online

📅 २०८३ जेष्ठ २१

भाइरलको प्रकोपले विद्यालय बन्द

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोप बढेको छ । एकसातादेखि गाउँभरीका बालबालिका तथा ज्येष्ठ नागरिक भाइरलले प्रभावित बनेका छन् ।

‘केदारेश्वर मावि सुण्डुमुण्डुमा अध्ययनरत ३ सय ५० विद्यार्थीमध्ये आधा भन्दा बढीमा भाइरल देखिएको छ ।’–विद्यालयका शिक्षक प्रेमसिंह ठगुन्नाले भने ।

भाइरलकै कारण विद्यार्थीहरुको नियमित पठनपाठनमा समस्या भएपछि असोज १९ गतेदेखि विद्यालय बन्द गरिएको छ । दसैँ विदा असोज २४ गतेदेखि गर्नुपर्ने भएपनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

भाइरल प्रभावित विद्यालयमा सामुदायिक स्वास्थ्य इकाई सुण्डमुण्डुको स्वास्थ्यकर्मीको टोलीले असोज १९ गते विद्यालयमै औषधि वितरण गरेको छ । सबै विद्यार्थी र शिक्षकमा भाइरल फैलिँदै आएपछि स्वास्थ्यकर्मीको टोली विद्यालयमै बोलाएर औषधि वितरण गरिएको हो ।

सामुदायिक स्वास्थ्य इकाईका प्रमुख रमेशसिंह ठगुन्नाले भने–‘अहिले विद्यालय क्षेत्र र बढी प्रभावित क्षेत्रमै औषधि दिएका छौँ ।’ मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य इकाई तथा निजी मेडिकलहरूमा बिरामीको भीड लाग्ने गरेको उनले बताए ।

भाइरल कम गर्नको लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली विद्यालय र गाउँमा पठाइएको नौगाड गाउँपालिका–२ का वडाअध्यक्ष नरेन्द्रसिंह ठगुन्नाले बताए ।

बिरामीलाई तातो पानीको प्रयोग, व्यक्तिगत तथा बाह्य सरसफाई तथा मास्कको प्रयोग गर्न आग्रह गरिएको ठगुन्नाले बताए ।

अन्य

भिडियो